कोरोना भाइरस महामारी

इटालीमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई हप्तायताकै कम

नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ का कारण विश्वमा सबैभन्दा धेरैको ज्यान गएको इटालीमा राहतको महसुस गर्न थालिएको छ ।

इटालीमा आइतबार पछिल्लो दुई हप्तायता पहिलोपटक कोभिड–१९ का कारण सबैभन्दा कम व्यक्तिको मृत्यु भयो । आइतबार इटालीमा कोरोना भाइरस संक्रमणका कारण ५२५ जनाको ज्यान गएको छ ।

यो पछिल्लो दुई हप्ता यताकै सबैभन्दा कम रहेको इटालीको नागरिक संरक्षण मन्त्रालयले बताएको छ । यस्तै नयाँ संक्रमित हुनेहरु पनि आइतबार कम भएका छन् । आइतबार चार हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण १५ हजार ८८७ जनाको मृत्यु भएको छ । यस्तै आइसियूमा राखेर उचार गर्नु पर्ने बिरामीको संख्या पनि आइतबार अघिल्लो दिनको तुलनामा १७ जना कम भएका छन् ।

आइतबार २९ सय ७२ जना उपचारका लागि अस्पताल भर्ना भए । यो पनि अघिल्लो दिनको तुलनामा कम हो । अहिले इटालीमा ९१ हजार २४६ जना कोभिड–१९ को उपचारका लागि अस्पताल वा डाक्टरको निगरानीमा छन् ।

इटालीमा कोरोना भाइरस मुक्त हुनेको संख्या २१ हजार ८१५ पुगेको छ । आइतबार ८१९ जना संक्रमण मुक्त भएको घोषणा गरिएको हो ।

कुल संक्रमतिको संख्या इटालीमा अहिलेसम्म एक लाख २८ हजार ९४८ पुगेको छ । इटाली पछिल्लो चार हप्तादेखि लकडाउनमा छ ।

यस्तै स्पेनमा पनि आइतबार अघिल्लो दिनको तुलनामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या कम भएको छ ।

स्पेनमा आइतबार थप ६९४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको कुल संख्या १२ हजार ६४१ पुगेको छ । संक्रमितको संख्या स्पेनमा एक लाख ३१ हजार ६४६ रहेको छ ।

विश्वभर संक्रमितको संख्या १२ लाख ७२ हजार नाघेको छ । यस्तै कुल मृत्यु हुनेको संख्या ६९ हजार ४२४ रहेको छ । अहिलेसम्म दुई लाख ६२ हजार २१७ जना निको भएर घर फर्किएका छन् ।

चैत २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्