लिबियाको अन्तरिम सरकारका पूर्व प्रमुखको कोरोना भाइरसका कारण मृत्यु

लिबियाको अन्तरिम सरकारका पूर्व प्रमुख महमूद जिब्रिलको कोरोना भाइरसका कारण निधन भएको छ।

जिब्रिलको पार्टीले नेतृत्व गरेको आन्दोलनबाट लिबियाका लामो समयदेखिका शासक माउमर गद्दाफीलाई सन् २०११ मा सत्ताच्यूत गरेको थियो। जिब्रिलको कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएको उनको पार्टीले जानकारी दिएको छ ।

६८ वर्षका जिब्रिलको कायरोमा निधन भएको हो । कायरोमा रहेको अस्पतालमा उनलाई दुई हप्ताअघि भर्ना गरिएकोमा आइतबार निधन भएको हो।

सन् २०१२ मा जिब्रिलले गठन गरेको नेशनल फोर्सेज एलायन्सका सचिव खालिद अल–म्रिमीले जिब्रिलको निधन भएको पुष्टि गरेका हुन्।

कार्डिक अरेस्ट भएपछि उनलाई मार्च २१ मा अस्पताल भर्ना गरिएको थियो । त्यसको केही दिनपछि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

जिब्रिल सन् २०१२ मा गद्दाफीको बहिर्गमनपछि भएको चुनावबाट नयाँ सरकार गठन हुँदासम्म अन्तरिम सरकारको प्रमुख थिए ।

चैत २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्