डेढ महिनाअघि विवाह गरेकी युवतीको गोली प्रहार गरी हत्या

सांकेतिक तस्बिर ।

धनगढी – डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलामा एक महिलाको आफ्नै घरमा गोली हानी हत्या भएको छ । आइतबार बेलुका २० वर्षीया अनिता वनको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलिपसिहं देउवाले बताए ।

उनका अनुसार आइतबार साँझ ५ बजेतिर वनको गोली हानी हत्या भएको बुझिएको छ । घटना भएको समय घरमा अनिता र उनका पति खडक वनमात्र रहेकोले प्रहरीले उनका पतिले हत्या गरेको आशंकामा सोधपुछ गरिरहेको छ ।

प्रहरीले घट्नास्थलबाट भरुवाबन्दुक बरामद गरेको उनले बताए । अहिले घटना स्थलमा रहेका प्रहरी उपरीक्षक देउवाले टेलिफोनमा भने ‘घटनाका बारेमा स्थानीयसँग बुझ्दा आइतबार बेलुका ५ बजेतिर अनिताको घरमा गोली चलेको आवाज आयो के भयो भनेर हेर्न जाँदा उनी घरको तल्लो तलामा लडेकी थिईन्, माथिल्लो तलामा उनका श्रीमान मात्र रहेका थिए ।’

प्रहरी उपरीक्षक देउवाले अहिले घटनाको अनुसन्धान भइरहेको र मृतकका श्रीमानसँग पनि सोधपुछ भईरहेको बताए ।

भारतको बैंग्लोरमा काम गर्ने खडक र डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ बगरकोट सिराडीकी अनिताबीच फेसबुक मार्फत प्रेम बसेपछि फाल्गुन १३ गते भागी विवाह गरेको स्थानीयले बताएका छन् ।

चैत २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्