ओलीले डाकेनन् सचिवालय बैठक

प्रधानमन्त्री ओलीलाई नेकपा शीर्ष नेताकाे प्रश्नः मन्त्रीहरुलाई भेट्न हुने हामीलाई नहुने?

काठमाडौँ – आफूहरुलाई उपेक्षा गरेर केपी ओली नेतृत्वको सरकारले संकटका बेला राष्ट्रलाई क्षति पुग्नेगरी ठूल्ठूला निर्णयहरु लिन थालेको र त्यसबारे छलफलको माग गर्दा सचिवालय बैठक नै नडाकेको भन्दै नेकपाका दुई पूर्वप्रधानमन्त्री सहित शीर्ष नेताहरु आक्रोशित बनेका छन्।

भ्रष्टाचार र अनियमितताको आरोप लागेपछि स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँगको मेडिकल सामग्री खरीद सम्झौता रद्द गरेलगत्तै बाहिरिएको सरकारको नेपाली सेनालाई मेडिकल सामग्री खरीदको जिम्मा दिने निर्णय आफूहरुको सल्लाहबिना भएको भन्दै नेकपाका शीर्ष नेताहरुले आपत्ति जनाएका हुन्।

यसबारे छलफल गर्न तत्कालै केन्द्रीय सचिवालय बैठक डाक्न उनीहरुले आन्तरिक तथा सार्वजनिकरुपमै पार्टी महासचिव विष्णु पौडेलमार्फत पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरे पनि त्यसबारे ओलीले कुनै प्रतिक्रिया नदिएको नेकपा सचिवालयका एक सदस्यले बताए।

यही चैत्र २१ गते ओलीेले फोनमार्फत पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत केन्द्रीय सचिवालय बैठक भोलिपल्ट अर्थात २२ नभए पर्सिपल्ट २३ गते बोलाउने प्रतिबद्धता जनाएका थिए।

तर आज २४ गते भइसक्दा पनि बालुवाटारबाट बैठक बोलाउनेबारे कुनै जानकारी नआएको र यसबाट सरकार पार्टीका शीर्ष नेताहरुसँग छलफल नगरी एकलौटीढंगबाट अघि बढ्न खोजेको संकेत मिलेको सचिवालयका ती सदस्यले भने।

प्रधानमन्त्रीले बैठक कहिले बोलाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले ‘लकडाउन भएको, सचिवालय बैठक नभएको’ भन्ने संक्षिप्त जबाफ दिए।

सचिवालयका अर्का एक सदस्य भन्छन्, ‘संकट हामीले पनि बुझेका छौँ। हामी पनि गम्भीर छौँ। मन्त्रीपरिषद बैठक बसिरहेको छ, उच्चस्तरीय समितिको बैठक बसिररहेको छ । मन्त्रीहरुलाई भेट्न हुने हामीलाई भेट्न नहुने? सचिवालय बैठक डाकेर हाम्रा पनि सुझाव नलिनु विडम्बना हो।’

नेकपाका अध्यक्ष दाहाल, वरिष्ठ नेता झेलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतमले २१ गते यता पटकपटक फोनमार्फत केन्द्रीय सचिवालय बैठक डाक्न महासचिव पौडलमार्फत प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै आएका छन्।
केही नेताले सिधै प्र्रधानमन्त्री ओलीलाई नै फोन गरेर बैठक डाक्न आग्रह गरेका छन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठले २ दिन अघि ट्वीटरमार्फत भनेका थिए,‘हो,मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु। दुवै अध्यक्ष कमरेडहरुलाई अनुरोध गरेको छु। आवश्यकता पर्दा मन्त्रीपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ। आजको सदर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ।त्यसैले शीघ्र बैठक बस्ने बिश्वास छ,बस्नै पर्छ।’

तर अहिलेसम्म आफूहरुलाई बैठकबारे कुनै जानकारी नआएको प्रवक्ता श्रेष्ठले बताए। उनले भने,‘यो समयमा पार्टीको बैठक बस्नु अत्यावश्यक भइसकेको छ। हामीले पटकपटक त्यसका लागि माग आग्रह गरेका छौँ। आश गरौँ भोलीसम्म केही जानकारी आउँछ कि।’

तर बालुवाटार स्रोतका अनुसार प्रधामन्त्री ओलीको प्राथमिकतामा तत्कालै सचिवालय बैठक बसाल्ने विषय छैन। ‘अहिले जतिसक्दो कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारमा सरकारले ध्यान दिने हो। त्यसका लागि अति आवश्यक परेमा मात्रै पार्टी बैठक बसाल्ने हो। सरकारले तिब्रगतिमा आफ्नो कामा अघि बढाउन जरुरी छ’ ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो।

यता उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले मेडिकल सामग्री खरीद प्रक्रिया अघि बढाइसकेको र उसले जतिसक्दो ती सामग्री ल्याउन नेतृत्वदायी भूमिका खेल्ने बताइसकेका छन्। नेपाली सेनाले ‘जिटुजी’ प्रक्रियाबाट दक्षिण कोरिया, चीन या अन्य कुनै पनि मुलुकबाट मेडिकल सामग्री खरीद गर्ने प्रयास गरेको पोखरेलले बताएका छन्।

यस्तै स्वास्थ्य सेवा विभागले पनि आफ्नो नियमित प्रक्रिया अन्तर्गत मेडिकल सामग्री खरिदका लागि प्रक्रिया अघि बढाउन साेमबारदेखि सरोकारवालाहरुसँग छलफल थालेको छ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले छिट्टै टेन्डर आव्हान गर्नेगरी काम अघि बढाएको बताए।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू