थिएटर फेस्टिभलमा आज गुरुकुलको नाटक

काठमाडौँ – भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’मा आज (सोमबार) गुरुकुलको नाटक हेर्न पाइने भएको छ । पुरानो बानेश्वरस्थित आरोहण, गुरुकुलमा २०६७ को १३ देखि १८ फागुनसम्म मञ्चन भएको नाटक ‘एल्ममुनिको तिर्खा’को भिडियो आज लाइभ हुँदैछ ।

युजिन ओनिलले लेखेको ग्रिक मिथमा आधारित नाटक नेपाली रङ्गमञ्चमा समेत सक्रिय अमेरिकी रङ्गकर्मी डेबोरा मेरोलाले निर्देशन गरेकी हुन् ।

नाटकमा अहिले सिनेमा र रङ्गमञ्चमा स्थापित भइसकेका कलाकारको अभिनय हेर्न पाइनेछ । नाटककी सहायक निर्देशक सरिता गिरी रङ्गमञ्च र सिनेमा दुवैमा जीवन्त अभिनयका कारण प्रशंसित छिन् । उनको केही साताअघिमात्रै ‘आमा’ सिनेमामा गरेको अभिनयले समीक्षकबाट प्रशंसा पाएको थियो ।

नाटकका कलाकार विपीन कार्की आफ्नो भर्सटायल अभिनय क्षमताका कारण नेपाली सिनेमामा निकै रूचाइएका कलाकार हुन् । लुट सिनेमामा ग्याङस्टरको रूपमा देखिएर सिनेमामा जोडिएका उनले छड्केबाट डेब्यू गरे । त्यसपछि ताण्डब, पशुपतिप्रसाद हुँदै सेल्फी किङसम्म आउँदा उनले चरित्रमा देखाएको विविधतालाई सिनेमाप्रेमी र समीक्षक दुवैले सह्राएका छन् । उनले रङ्गमञ्चलाई पनि निरन्तरता दिइरहेका छन् । पछिल्लो समय उपेन्द्र सुब्बाको कथामा आधारित सुनिल पोखरेल निर्देशित नाटक ‘हरियो ढुंगा’मा उनले अभिनय गरेका थिए ।

दीपेन्द्र के. खनाल निर्देशित सिनेमा ‘पशुपतिप्रसाद’मा हनुमान बनेर निकै तारिफ बटुलेका रविन्द्रसिंह बानियाँलाई पनि नाटकमा देख्न पाइनेछ । टलकजंग भर्सेस टुल्के, सेतो सूर्य, जात्राको सिक्वेललगायतमा उनले गरेको अभिनयबाट दर्शकमा प्रभाव छोडेका छन् ।
नाटकमा उमा, बधशाला, खागलगायत दर्जनभन्दा बढी सिनेमामा विभिन्न भूमिकाका काम गरेका प्रविण खतिवडाले पनि यो नाटकमा अभिनय गरिरहेका छन् । उनी रङ्गमञ्चमा पनि उत्तिकै सक्रिय छन् । पछिल्लो समय उनले सुनिल पोखरेलसँग मिलेर हावर्ड जिनको नाटकको नेपालीकरण ‘माक्र्स फर्किए’ निर्देशन गरेका थिए ।

रणवीर स्टारर बलिउड सिनेमामा ‘बर्फी’मासमेत अभिनय गरेका भोलाराज सापकोटालाई पनि नाटकमा देख्न पाइनेछ । उनी पनि नेपाली सिनेमा र रङ्गमञ्च दुवैमा सक्रिय छन् । त्यस्तै पछिल्लो समय कमेडी सिरियल र सिनेमा दुवैमा सक्रिय एवं लोकप्रिय कलाकार कमलमणि नेपाल र अरूणा कार्कीले पनि यो नाटकमा अभिनय गरेका छन् । त्यस्तै नाटकको प्रप्स डिजाइनर पशुपति राईका साथै अभिनय गरेका सरस्वती चौधरी, रामहरि ढकाल, सजन थापा, प्रमिला कटुवाल, हुम बिसीलगायत नेपाली सिनेमा र रङ्गमञ्चमा परिचित अनुहार बनिसकेका छन् । सन् १९२४ मा लेखिएको यो नाटक बलबहादुर थापाले नेपालीमा अनुवाद गरेका हुन् ।

०५०को दशकपछि नेपाली रङ्गमञ्चलाई पुनर्जागरण गरेको गुरुकुल ०५९ सालमा पुरानो बानेश्वरमा स्थापना भएको थियो । सुनिल पोखरेलको नेतृत्वमा ०३८ सालमा स्थापित रंगसंस्था आरोहणले निर्माण गरेको गुरुकुलले दुई बर्षीय आवासिय प्रशिक्षण चलाएर कलाकार र नाटक उत्पादन गरेको थियो । ०६८ सालमा जग्गामा समस्या भएपछि नाटकघर भत्किएको थियो । त्यसपछि भने गुरुकुल राजधानीमा निस्क्रिय भएको थियो । यसले विराटनगरमा भने नाटकघर चलाइरहेको छ । गुरुकुल नेतृत्व सुनिल पोखरेलले ‘ज्ञ’ नामक स्पेसमा अभिनय कार्यशाला चलाइरहेका छन् भने नाटक निर्देशन पनि गरिरहेका हुन्छन् ।

उत्सवमा मंगलबार ‘श्याम साह’को कथामा आधारित सुलक्षण भारती निर्देशित नाटक ‘लाटीको छोरो’को भिडियो प्रदर्शन गरिने प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले बताए । त्यसै गरी सिनेमामा चर्चामा रहेकी अभिनेत्री सुरक्षा पन्त अभिनित, विजया कार्की निर्देशित नाटक ‘क्लेशा’को भिडियो पनि उत्सवमा प्रदर्शन गरिने उनले जानकारी दिए । उत्सवमा चे शंकर निर्देशित बालकृष्ण समको नाटक ‘ऊ मरेकी छैन’, हिरा बिजुली निर्देशित कर्णाली आर्ट सेन्टरको प्रस्तुति ‘गर्भछिटा’ पनि सूचिमा छन् ।

‘कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि सरकारले आगामी चैत्र २५ सम्मलाई ‘लकडाउन’ अवधि घोषणा गरेपछि एक साताको लक्ष्यसहित सुरु भएको उत्सव दोस्रो साता पनि निरन्तरता दिइएको थियो । संक्रमणबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको हो ।

नाटकको भिडियो ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलfacebook.com/theatreMall बाट लाइभ स्ट्रिमिङ गरिनेछ ।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्