कोभिड १९

संकटमा पोल्ट्री व्यवसायः दैनिक ६ लाख चल्ला नष्ट गरिँदै

काठमाडौँ– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनले व्यापार–व्यवसायमा गम्भीर असर परेको छ।

लकडाउनका कारण गम्भीर असर परेको व्यवसाय मध्ये एक हो पोल्ट्री व्यवसाय। नेपालमा आत्मनिर्भर रहेको पोल्ट्री व्यवसाय, विशेषगरी चल्ला उत्पादन गर्नेहरु बढी मर्कामा परेका छन्।

कोरोना भाइरसका कारण भएको लकडाउनका कारण दैनिक ६ लाख कुखुराका चल्ला नष्ट गर्नु परेको नेपाल ह्याचरी संघले जनाएको छ। संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले दिनको ६ लाख चल्ला नष्ट गर्नु परेको जानकारी दिएका हुन्।

उनले लकडाउनपछि ४२ लाख चल्ला नष्ट गरेको बताए। उनले भने, ‘हप्तामा ४२ लाख चल्ला उत्पादन हुन्छ। दैनिक चल्ला उत्पादन हुन्छन्। तर लकडाउनले चल्ला बिक्री हुन पाएका छैनन्। त्यसैले नष्ट गर्नु परेको छ।’

उनले चल्ला उत्पादनलाई रोक्न पनि सम्भव नभएको बताए। ‘चल्ला उत्पादन रोक्न सम्भव नै छैन’ उनले भने, ‘कुखुरालाई दाना खुवाउनै पर्छ। भाले लाएको अण्डा हुन्छ। बाहिर बेच्न मिल्दैन। त्यसले गर्दा मेसिनमा राख्नु पर्छ।’

उनले अहिलेको अवस्थालाई मध्यनजर गर्दै चल्ला उत्पादनमा रोक लगाउने हो भने आगामी दिनमा सरकारको कस्तो निणर्य आउने हो भन्न नसकिने बताए । ‘आजको अवस्थालाई हेरेर मेसिनमा अण्डा नराखे भने २१ दिनपछि कस्तो अवस्था हुने हो केही थाहा छैन,’ उनले भने।

संघका अध्यक्ष पोखरेलका अनुसार लकडाउन भएकाले चल्ला बिक्री वितरण गर्न सकिएको छैन।

‘यो चल्लासँग मात्र नभएर कुखुराको मासु र अण्डासँग पनि जोडिएको छ। कुखुरा बेच्ने ठाउँ पनि खुलेको छैन। खोले पनि स्थानीय प्रशासनले बन्द गरिहाल्छ। त्यसले गर्दा हामीलाई अप्ठ्यारो परिरहको छ’, उनले भने।

उनले यस विपदसँग विश्व नै जुधिरहेका बेला सरकारको नियमलाई मान्नु पर्ने बताए। उनले नेपालभर चल्ला उत्पादन गर्ने ३ सय २४ व्यवसायीहरु मारमा परेको जानकारी दिए।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू