कोरोनाको प्रभाव: यस्तो छ दक्षिण एशियाका ८ देशको अवस्था

एजेन्सी– चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोपले यतिबेला विश्वव्यापी महामारीको रुप लिएपछि यसको नियन्त्रणमा चुनौती देखिएको छ।

महामारी नियन्त्रणमा आउनुको साटो दिन प्रतिदिन भयावह रुपमा विस्तार हुँदै गइरहेको छ। दक्षिण एशियाली राष्ट्रहरुमा समेत पछिल्लो समय कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ।

यस्ताे छ, दक्षिण एशिया (सार्क)का ८ देशकाे अवस्था:

भारत: दक्षिण एशियामा क्षेत्रफल र जनसंख्याका हिसाबले सबैभन्दा ठूलो राष्ट्र भारत कोरोना भाइरसबाट अन्य राष्ट्रभन्दा बढी प्रभावित देखिएको छ।

हालसम्म भारतमा ४ हजार ३ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ सय १८ जनाको मृत्यु भएको छ।

कोरोनाको प्रभाव विस्तार हुँदै गएपछि भारतमा २१ दिन लामो लकडाउनको घोषणा गरिएको छ। भारतमा आज लकडाउनको १३ औँ दिन हो।

पाकिस्तान: भारतपछि पाकिस्तान दक्षिण एशियामा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ। हालसम्म पाकिस्तानमा ३ हजार २ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५० जनाले ज्यान गुमाइसकेका छन्।

अफगानिस्तान: अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ। हालसम्म ७ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएको अफगानिस्तानमा ३ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

श्रीलंका: दक्षिण एशियाको अर्को राष्ट्र श्रीलंका पनि कोरोना भाइरसको प्रकोपबाट अछुतो रहन सकेको छैन। श्रीलंकामा हालसम्म १ सय ७६ जना कोरोना भाइरसबाट संक्रमित बनेका छन् भने ५ जनाको मृत्यु भइसकेको छ।

बंगलादेश: बंगलादेशमा हालसम्म कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। संक्रमितको संख्या अफगानिस्तान र श्रीलंकाको भन्दा कम भए पनि ती देशको तुलनामा बंगलादेशमा मृत्युदर बढी देखिएको छ।

बंगलादेशमा हालसम्म १ सय २३ जना कोरोना भाइरसबाट संक्रमित बनेको पुष्टि भएको छ।

माल्दिभ्स: माल्दिभ्स दक्षिण एशियाको सबैभन्दा सानो राष्ट्र हो। जनसंख्या र क्षेत्रफलको हिसाबले सानो भएपनि माल्दिभ्समा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुगिसकेको छ।

कोरोनाबाट माल्दिभ्समा हालसम्म कसैको मृत्यु भएको छैन।

नेपाल: नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सुरुमा विदेशबाट हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेकाहरुमा मात्रै कोरोनाको संक्रमण देखिएको थियो।

तर दुवईबाट नेपाल फर्केका धनगढीका एक जना युवाकी भाउजुमा समेत कोरोना संक्रमण देखिएको छ। नेपालमा पहिलो पटक ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना भाइरस देखिएको हो।

यसबाट नेपाल थप जोखिममा परेको विश्लेषण गरिएको छ। यस्तै भारतबाट नेपाल फर्केका दुई जनामा समेत कोरोना देखिएको छ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउनको घोषणा गरेको छ। लकडाउनको अवधि बढाएर सरकारले वैशाख ३ गतेसम्म पुर्‍याएको छ।

भुटान: भुटान दक्षिण एशियाली राष्ट्रमा कोरोनाबाट सबैभन्दा कम प्रभावित मुलुक हो। हालसम्म भुटानमा ५ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू