दबाब थेग्न नसकेपछि ओलीले भोलि ४ बजे डाके नेकपा सचिवालय बैठक

फाइल तस्बिर।

काठमाडौँ- शीर्ष नेताहरुले चर्को दबाब थेग्न नसकेपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मगंलबार दिउँसो ४ बजे केन्द्रीय सचिवालय बैठक बोलाएका छन्।

आफूहरुसँग सल्लाह या छलफल नगरी संकटका बेला सरकारले एकलौटीरुपमा गम्भीर निर्णयहरु लिन थालेको भन्दै नेकापका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरुले चार दिन यता छिटोभन्दा छिटो केन्द्रीय सचिवालय बैठक डाक्न दबाब दिएपनि ओलीले त्यसलाई पन्छाउँदै आएका थिए।

तर केहीबेर अघि मात्रै नेकपाका महासचिव विष्णु पौडेलले मगंलबार चार बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले केन्द्रीय सचिवालय बैठक बोलाएको जानकारी सचिवालय सदस्यहरुलाई गराएका छन्।

नेकपाका अध्यक्ष प्रचण्डसँगै सचिवालयका अधिकांश सदस्यहरुले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक सामग्री खरीदका बेला सरकार भ्रष्टाचार मुछिएको प्रकरण, नेपाली सेनलााई त्यस्ता सामग्री खरीदको जिम्मा दिने सरकारी निर्णय र श्रमजीवी वर्गहरुका लागि उचित राहत प्याकेज घोषणा नगरेकोलगायत विषयमा सरकारसँग स्पष्टीकरण माग गर्ने योजना बनाएका छन्।

सचिवालयका एक सदस्यले भने,‘ निकै दबाब दिएपछि मात्रै बैठक बोलाइएको छ । सरकारले पछिल्लो समय हामीसँग सल्लाह नगरी गरेका निर्णयहरुबारे स्पष्टीकरण दिनुपर्ने छ। हामी त्यो बैठकमा माग गर्ने छौँ।’

नेकपामा एमसीसी पास गर्ने /नगर्ने, नेता बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने /नलैजाने, पार्टीले सरकार चलाउने /नचलाउने बिषयमा बिवाद  कायमै रहेका बेला प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए।

ओली डिस्चार्ज भएर बालुवाटार फर्किएलगत्तै कोभिड-१९ को रोकथामका लागि सरकार ब्यस्त भएको, सामाजिक दुरी कायम गर्नुपर्नेलगायत कारणले पार्टीको बैठक बोलाइएको थिएन।

तर मेडिकल सामग्री खरीदमा सरकारको भ्रष्टाचार र अनियमितता लुकेको समाचारहरु प्रकाशन हुन थालेपछि नेकपाका खासगरी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतमले त्यसबारे छलफल गर्न प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक डाक्न दबाब दिन थालेका थिए।

चैत २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्