बाँकेमा ३१ ‘स्याम्पल’ नेगेटिभ, २३ जनाको काठमाडौं पठाइयो

नेपालगञ्‍ज-बाँकेमा क्वारेन्टाइनमा बसेका व्यक्तिको स्याम्पल जाँचको गति बढाइएको छ। यहाँबाट एकै दिन २३ जनाको स्याम्पल काठमाडौं पठाइएको छ।

यसअघि विभिन्‍न मितिमा पठाइएका ३१ वटा स्याम्पल नेगेटिभ आएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले एकै दिन २३ वटा स्याम्पल संकलन गरेर पठाएको जानकारी दिए।

भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिलाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका छन्। अहिले क्वारेन्टाइनमा ४ सय २७ जना बसिरहेका छन्। उनीहरुको स्याम्पल संकलन गर्दै काठमाडौंस्थित केन्द्रीय प्रयोगशाला पठाइएको हो।

पछिल्लो दिनमा स्याम्पल संकलनको गति बढाइएपनि अझै क्वारेन्टाइनमा धेरै मानिस रहेका छन्। दशगजामा बनाइएको क्वारेन्टाइनमा मात्रै भारतबाट आएका १ सय ८१ जना छन्।

यता, भेरी अस्पताल, नेपालगञ्जमै कोरोना भाइरस जाँच पीसीआर मेसिन राख्‍ने तयारी अन्तिम अवस्थामा पुगेको जनाइएको छ। अस्पतालका चिकित्सक डा. बद्री चापागाईले भेरीका लागि काठमाडौंबाट मेसिन ल्याउने तयारी भइसकेको बताए।

भेरीमा एक हप्तामा मेसिन जडान गरेर परीक्षणको काम शुरु गर्ने भनिएको छ। डा.चापागाईका अनुसार, भेरीमा जडान हुने मेसिन उच्च क्वालिटीको भएकाले दिनमा सय जनासम्मको जाँच हुने जानकारी दिए।

यसैबीच, लकडाउन भएपनि जिल्लाका छोटी नाकाहरुबाट भारतमा रहेका नेपालीहरु छिर्ने क्रम नरोकिएपछि नाकामा सशस्त्र प्रहरीको संख्या बढाएर कडाई थालिएको छ।

सशस्त्र प्रहरीका एसपी दीपक अधिकारीका अनुसार एक एक किलोमिटरको दूरीमा प्रहरी राखेर निगरानी बढाइएको छ। नाकामा सशस्त्र प्रहरीका ६ वटा बिओपी रहेका छन्।

चैत २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्