रोग लाग्‍नुभन्दा रोगको बाटो छेक्नेतिर लागे हुम्लाबासी

सिमकोट-रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु उपयुक्त भन्ने नेपाली उखान नेपाली उखान चरितार्थ गर्ने बाटोमा उत्तरी हुम्लाका बासिन्दाहरु लाग्न थाल्नु भएको छ।

कोरोना संक्रमण जिल्लामा भित्रिनभन्दा उक्त संक्रमण भित्रिनै नदिने उपाय स्वरुप हुम्लाबासी आ-आफ्ना वडामा प्रवेश निषेध गरेर रोगको बाटो छेक्नेतिर लाग्नु भएको हो।

सोमबार बिहान सिमकोट गाउँपालिका वडा नम्बर ५ का बासिन्दाहरुले सामुहिक निर्णय गरेर वडाका नाकामा कुनै पनि नयाँ मान्छे प्रबेश गर्न रोक लगाएका छन्। उक्त वडामा तीन वटा नाका रहेका छन्।

तीन नाकामा दुई जना स्थानीय युवाहरु बस्ने गरि पालोको  व्‍यवस्था गरिएको सिमकोट पाँचका धर्मराज रोकायाले बताउनुभयो । पहरा बस्नेलाई खाजाको ब्यबस्था वडाबासीले गर्नेछन्। पछि केही गरि संक्रमण भित्रिए लुक्नु भन्दा अरु उपाय नभएको बताउदै रोकायाले पहिले नै अन्यत्रका मानिसलाई गाउँ आउन रोक लगाएपछि रोग आफै आउन नपाउने बताए।

कोरोना संक्रमण रोक्ने सजिलो उपाय लकडाउनमा बस्नु र अन्यत्रका मानिसलाई गाउँ छिर्न नदिने र नयाँ मानिस आफ्नो वडामा छिरे दश हजार जरिवाना पनि तोकिएको छ।

वडा नम्बर ५ मात्र होइन ६, ७ र ८ नम्बर वडाले पनि आफ्नो क्षेत्र प्रबेश गर्ने नाकामा प्रवेश निषेध गरेर कोरोना संक्रमण रोक्ने प्रयास गरेका छन्। वडा नम्बर ६ का अध्यक्ष जयचन्द्र रोकायाले कोही पनि नयाँ व्यक्ति वडामा छिर्न नपाउने र सबैले लकडाउनलाई पालन गर्ने निर्णय भएको बताए।

उक्त वडा प्रबेशका लागि दुई वडा नाका रहेको र त्यहाँ प्रहरीसँगै युवा क्लवका सदस्यहरु परिचालन गरेर बाहिरका मानिसहरु रोक्ले बाटोमा लागेको बताए। सिमकोटका १, २ र तीनले यस अघि नै वडा प्रवेशमा कडाइ गरी सकेका छन्।

यसरी नयाँ मानिस गाउँमै प्रबेश गर्न नपाउने बाटोमा नाम्खा गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ पनि लागेका छन्। वडा नम्बर १ का अध्यक्ष प्रेम लामाले पछि चा चा र थै थै गर्नुभन्दा अहिले वडा प्रवेशमा कडि-कडाईका साथै लकडाउन पूर्णपालन गर्नु उपयुक्त भएकोले त्यसतर्फ वडाबासी लागेको बताए।

उक्त गाउँपालिकाका वडाहरुले नयाँ मानिस गाउँमा क्वारेन्टाइन नबसी प्रवेश गरे पाँच हजार देखि पच्चीस हजारसम्म परिवाना तोकेका छन्। नाम्खाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीमा पनि वडाले गाउँ प्रबेन नगरुन भनि नाकामा पहरा दिने व्‍यवस्था गरेको छ।

अर्को खार्पुनाथ गाउँपालिकाका सबै वडाहरुले पनि गाउँ प्रवेशमा रोक लगाएका छन्। उक्त गाउँपालिका प्रवेशको मुख्य मार्ग छारेमा निक्कै कडाई गरेर मानिसहरु प्रबेश गर्न नदिएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताए।

उक्त गाउँपालिकाको वडा नम्मर ५ ले त हाल गाउँमा प्रवेश गरेका स्वास्थ्यकर्मी बाहेक अरु स्वासथ्यकर्मीलाई पनि प्रबेशमा रोक लगाएका छन्। यतिखेर हुम्लाबासी कोरोना संक्रमणबाट जोगिन निक्‍कै सचेत रहेको देखिन्छ। मर या बाँचको दोसाँधमा रहेको बेला हुम्लाबासीले कोरोना संक्रमणबाट बाँच्न उपयुक्त तरिका अबलम्बन गरेकोमा स्थानीय प्रशासनले पनि स्वागत गरेको छ।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्