सात स्थानमा सशस्त्र प्रहरीको ‘चेकप्वाइन्ट’ स्थापना

अत्तरिया-भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न सात सहायक सीमानाकामा सशस्त्र प्रहरीका नयाँ ‘चेकप्वाइन्ट’ स्थापना गरिएका छन्।

नेपाल-भारत सीमामा आवतजावत गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ गर्न चेकप्वाइन्ट स्थापना गरिएको हो।

धनगढी उपमहानगरपालिका–९ बङ्गराकटान, वडा नं १० जुगेडा, कैलारी गाउँपालिका खोनपुर, भजनी नगरपालिका–७ हिक्मतपुर, वडा नं ६ कौवाखेडा, वडा नं ३ मौरीयाँघाट र टीकापुर नगरपालिका–९ श्रीलङ्कामा नयाँ चेक प्वाइन्ट स्थापना गरिएका हुन्।

मुख्य नाका बन्द भएपछि सहायक नाका प्रयोग गरेर सर्वसाधारण नेपाल भित्रिन थालेपछि सीमामा नयाँ चेकप्वाइन्ट स्थापना गरिएको कैलालीका सहायक प्रजिअ मोहनराज जोशीले जानकारी दिए।

सशस्त्र प्रहरी बल ३४ नं गणले भारतसँग सिमाना जोडिएको एक सय किमी लामो सिमानामा हालसम्म एक गुल्म र चार बिओपीमार्फत सीमा सुरक्षा गर्दै आइरहेकामा कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि थप सात चेकप्वाइन्ट स्थापना गरेको जनाइएको छ।

नयाँ थप गरिएका सात र पुराना पाँचसहित १२ युनिटमार्फत सशस्त्र प्रहरीले भारतसँग जोडिएको कैलालीको सम्पूर्ण सीमा क्षेत्रमा निगरानी गरिरहेको जनाइएको छ। चौबिसै घण्टा सीमामा तैनाथ सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने आवतजावतमा पूर्णरुपमा निगरानी गरी नियन्त्रण गर्ने जनाइएको छ।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्