बेलायती प्रधानमन्त्री जोन्सन आइसियूमा, स्वास्थ्य अवस्था ‘गम्भीर’

कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ ।

कोरोना भाइरसका लक्षणहरु थप सघन बन्दै गएको र स्वास्थ्य अवस्था गम्भीर देखिएपछि प्रधानमन्त्री जोन्सनलाई आइसियूमा सारिएको उनको कार्यालयले जनाएको छ ।

जोन्सनको मेडिकल टिमको सहल्लाहमा उनलाई आइसियूमा सारिएको प्रवक्ताले बताएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

आफ्नो अनुपस्थितिमा सरकारका अत्यावश्यक कामहरु गर्नका लागि प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री डोमिनक राबलाई जिम्मेवारी दिएको ती प्रवक्ताले बताएका छन् ।

५५ वर्षका जोन्सनलाई आइतबार बेलुका लण्डनको अस्पतालमा भर्ना गरिएको छ । कोरोना भाइरसका लक्षणहरु कम नभएपछि उनीलाई अस्पताल लगिएको थियो । तर स्वास्थ्य अवस्था थप कमजोर बनेपछि उनलाई आइसियूमा सारिएको हो ।

उनलाई भेन्टिलेटरमा भने राखिएको छैन । प्रधानमन्त्रीको कार्यालयले भनेको छ, ‘उहाँलाई लण्डनको सेन्ट थोमस हस्पिटलको डाक्टरको निगरानीमा रोखिएको छ । उहाँको अवस्था थप गम्भीर देखिएपछि मेडिकल टिमको सल्लाहमा आइसियूमा सारिएको हो ।’

लेबर पार्टीका नेता सर केएर स्टार्मरले प्रधानमन्त्री जोन्सनको स्वाथ्यलाभको कामना गरेका छन् । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जोन्सनको स्वाथ्यलाभको कामना गरेका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

मार्च २७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री जोन्सन सेल्फ आइसोलेसनमा थिए।

चैत २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्