फ्रान्समा एकै दिन ८३३ जनाको मृत्यु

फ्रान्समा कोरोना भाइरसका कारण सोमबार एकै दिन ८३३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट फ्रान्समा एकै दिन यति धेरैको मृत्यु भएको यो महामारी सुरु भए यताकै बढी हो ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि फ्रान्समा मृत्यु हुनेको कुल संख्या ८ हजार ९११ पुगेको छ । यस्तै संक्रमितको कुल संख्या ९८ हजार १० रहेको छ ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयलले जारी गरेको तथ्यांक अनुसार सोमबार अस्पतालमा उपचारको क्रममा ६०५ तथा नर्सिङ्ग होम अर्थात रिटायरमेन्ट होममा २२८ जनाको मृत्यु भएको हो । दुवै स्थानमा मृत्यु हुनेको संख्या १० प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

तर फ्रान्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य गम्भीर भएर सघन उपचार कक्षमा राखेर उपचार गर्नु पर्ने बिरामीको संख्या सोमबार १.३ प्रतिशतले मात्रै बढ्यो । यो अघिल्लो दिनको तुलनामा कम हो ।

अहिले फ्रान्समा आइसियूमा रहने कोरोना भाइरस संक्रमितको संख्या सात हजार ७२ छ।

फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुने मध्ये २७ प्रतिशत रिटायरमेन्ट होमका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चैत २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्