न्यूजिल्याण्डका स्वास्थ्य मन्त्रीले आफैलाई ‘बेवकुफ’ भने, राजीनामा स्वीकृत भएन

न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री आफैलाई बेवकुफ भनेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि न्यूजिल्याण्ड अहिले लकडाउनमा छ ।

तर स्वास्थ्य मन्त्री डेविड क्लार्कले लकडाउन उल्लंघन गरी गाडीमा परिवारका सदस्यलाई लिएर समुद्री तटमा गएका थिए । त्यसका लागि माफी माग्दै उनले आफैलाई बेवकुफ भनेका हुन् ।

मन्त्री क्लार्कले आफूले गरेको २० किलोमिटरको ड्राइभिङ्ग लकडाउनको स्पष्ट उल्लंघन रहेको स्वीकार गरेका छन् । उनले प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न समक्ष राजीनामाको प्रस्ताव पनि गरेका थिए ।

तर कोरोना भाइरसको संक्रमण फैलिएको अहिलेको अवस्थामा उनको राजीनामाको प्रस्ताव स्वीकार भएन । तर मन्त्रीपरिषदमा उनको बरियता कम गरिएको छ ।

लकडाउन सुरु हुनु पूर्व प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न र स्वास्थ्य मन्त्री डेविड क्लार्क

वित्त सहायक मन्त्री समेत रहेका उनको सो पद भने गुमेको छ । गएको आइतबार स्कटल्याण्डकी चिफ मेडिकल अफिसरले आफ्नो द्वितिय घरमा लकडाउनको उल्लंघन गरी दुईपटक यात्रा गरेकोमा राजीनामा दिएकी थिइन् ।

न्यूजिल्याण्ड मार्च २५ देखि उच्च तह (लेभल फोर) को लकडाउनमा छ । तर लकडाउन सुरु भएको पहिलो सप्ताअन्तमा मन्त्री क्लार्कले आफ्नो परिवारलाई लिएर डुनेडिनमा रहेको घरबाट डक्टर्स पोइन्ट बिचमा गएका थिए ।

चैत २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्