लकडाउनमा निकुञ्जका जनावर जोखिममा

शिकारीले पासोमा पारेको बँदेल ।

नेपालगञ्ज – लकडाउनको बेलामा चोर शिकारीको नजर निकुञ्जभित्र परेको छ । बाँके राष्ट्रिय निकुञ्जले पछिल्लो पाँच दिनयता १८ जनालाई कारबाही गरेको छ ।

कारबाहीमा परेकाहरु चोरी शिकारीदेखि बिना अनुमति निकुञ्जभित्र प्रवेश गरेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जंगली जनावर मारेर खाएका, पालेका, बिना अनुमति जंगलभित्र पसेका र माछा मारेका व्यक्तिहरुलाई पक्राउ परेर कारबाही प्रक्रिया अघि बढाएको बताए ।

पक्राउ परेकामध्ये केहीलाई बर्दिया राष्ट्रिय निकुञ्जमा कारबाहीका लागि पठाइएको छ । बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर, चिसापानीमा गस्ती टोलीले बँदेल र रतुवाको मासुसहित ६ जनालाई पक्राउ गरेको थियो ।

बैजनाथ गाउँपालिकाका ती ६ जनाले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा शिकार गरी ल्याएको खुलेपछि उनीहरुलाई आवश्यक कारबाहीका लागि बर्दिया पठाइएको छ । सोही घटनाको खानतलासी गर्ने क्रममा अवैध रुपमा घरमा लुकाइराखेको चौकाको बच्चा फेला परेको थियो ।

निकुञ्जको टोलीले चौकाको बच्चालाई उद्धार गरेर त्यसलाई समातेर ल्याउने दुई जनालाई कारबाहीका लागि बर्दिया पठाएको छ ।
निकुञ्जले बिना अनुमति निकुञ्जमा प्रवेश गरेका आठ जना र माछा मार्न पुगेका दुई जनालाई कारबाही गरेको छ । निकुञ्जको टोलीले एउटा शिकारी कुकुरलाई समेत समातेको छ ।

चोर शिकारीले शिकारी कुकुरलाई निकुञ्ज भित्र छोड्ने र कुकुरले चित्तल मारेपछि आफूहरु गएर मासु ल्याउने आकलन गरिएको छ । निकुञ्ज कर्मचारीले गाभरमा पासोमा परेको एउटा बँदेलको उद्धार गरेको छ । शिकारी फेला परेनन् ।

लकडाउनका बेलामा निकुञ्ज भित्र जाने र मौका मिल्दा चराचुरुंगी, जनावर मारेर ल्याउने प्रवृत्ति देखिएपछि निकुञ्ज प्रशासनले त्यस्ताको निगरानी बढाएको छ ।

चैत्र २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्