आवागमन बन्द गर्न टाेल–टाेलमा ढाट लगाउँदै स्थानीय

माेरङ– कोरोना भाइरस (कोभिड १९)को जाखिम कम गर्न सरकारले पालिका, जिल्ला र प्रदेशमा अत्यावश्यक बाहेकको आवागमनलाई बन्देज लगाइरहँदा मोरङमा स्थानीयले पनि टोलटोलमा ढाट लगाउन सुरु गरेका छन्।

मोरङका १७ वटा स्थानीय निकाय मध्ये बेलबारी नगरपालिकाका केही वार्डले आफ्नाे टोलमा अपरिचित व्यक्ति तथा सवारी आवागमन रोक्दै सडकमा बाँसको ढाट लगाएका छन्।

बेलबारी नगरपालिका वडा नम्बर २ को त्रिवेणी टोल, आर्दश टोल, कविर टोल लगायतका स्थानमा स्थानीय आफैले सडक अवरुद्ध गरेका हुन्।

सरकारले लकडाउनलाई वैशाख ३ गतेसम्म जारी राख्ने जनाएसँगै स्थानीयले मानिसको आवतजावतमा रोक लगाएको बताएका छन्। उनीहरु अपरिचित व्यक्तिलाई गाँउमा पस्न दिनु आफूहरुका लागि खतरा हुन सक्ने बताउँछन्।

बाहिरका मानिसलाई आफ्नो गाँउमा प्रवेश दिँदा कोरोनाको जोखिम हुन सक्ने उनीहरुको बुझाइ छ।

स्थानीय त्रिवेणी टोल विकासका अध्यक्ष कुमार सोदेम्बाले कोरोनाको त्रासकै कारण आफूहरुले गाँउमा अन्य मानिस र सवारीमा रोक लगाएको बताए। यद्यपि एम्बुलेन्स, खाद्यान्न तथा दुध बोक्ने गाडीलाई नरोक्ने सहमति भएको सोदेम्बाले जानकारी दिए।

त्यसैगरी स्थानीय युवराज सेञ्चुरीले लकडाउनका समयमा विना काम हिड्ने मानिसको आवतजावतमा कमि ल्याउन ढाट लगाइएको बताए।

यस विषयमा अन्य स्थानीयले भने असन्तुष्टि जनाएका छन्। उनीहरुले ढाट मुख्य सडकमा लगाएर आवतजावत ठप्प पार्नु पर्नेमा जोडदिँदै टोलमा रोक लगाउनु फाइदाजनक नभएको गुनासो गरेका छन्।

चैत्र २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्