राहत वितरणमा असन्तुष्टि, ट्रेड यूनियन भन्छ, ‘श्रमिक भोकै छन्’

मोरङ-लकडाउनको फाइदा उठाउँदै विभिन्‍न स्थानीय तहले आफू खुशी राहत वितरण गर्दै आएकोमा नेपाल टे्रड यूनियन कांग्रेस मोरंगले आपत्ती जनाएको छ।

टे्रड यूनियन मोरंगका अध्यक्ष सुशील कोइरालाले सरकारले राहत वितरणका लागि स्थानीय तहलाई जिम्मेवारी दिएसंगै श्रमिकलाई पन्छाएर स्थानीय तहले राहत बाड्दै गएको आरोप लगाएका छन्।

लकडाउनका कारण विपन्न तथा दैनिक ज्यालादारी श्रमिकहरु समस्यामा परेको बताएका कोइरालाले भोट बैंकको हिसाबले स्थानीय तहहरुले आफू निकटस्थतलाई राहत बाँडेको असन्तुष्टि व्‍यक्त गरेका हुन्।

पछिल्लो समय राहत वितरणका नाममा जिल्लाका १७ वटा स्थानीय निकायले राहत वितरणको जिम्मेवारी लिएर बाँडिरहेको उनको आरोप छ।

राहत विपन्‍न तथा श्रमिकका लागि भएको बताएका कोइरालाले स्थानीय तहले ट्रेड यूनियनसंग सरोकार नराखी आफूखुशी बाड्दै आएको बताए। उनले भने, “स्थानीय तह भोट बैंक जोगाउने क्रममा आफूखुशी राहत बाड्दै गएको छ।श्रमिकको विषयमा हामीसंग स्थानीय तहले छलफल समेत गरेको छैन। यसले राहत कस्को हातमा पर्दै गएको छ। हामी हेरिरहेका छौ।”

विराटनगर महानगरपालिकासँगै मोरङ्‍गका १६ वटै स्थानीय तहका विभिन्‍न वडामा यतिबेला राहत वितरणको काम भइरहेको छ। राहत बाड्ने क्रममा फोटो खिचेर सामाजिक सञ्जालमा राख्नबाहेक स्थानीय तह गम्भीर हुन नसकेको कोइरालाको भनाइ छ।

मोरंगमा कार्यरत श्रमिकहरु जिल्ला बाहिरका पनि रहेकाछन्, कोइरालाले भने, ‘उनीहरुलाई समेत स्थानीय तहले समेट्न सकेको छैन। लकडाउनले घरफर्कन नसकेका उनीहरुलाई समेत उचित ब्यवस्थापन गर्नुपर्ने दायित्व स्थानीय तहको हो।तर त्यो पाइदैन्।”

महानगरका अनुसार राहत लिने क्रममा घर भएका, आयस्रोत भएका मानिस समेत आउने गरेकाछन्। वडाले समेत राहतको सिफारिस गर्ने क्रममा संख्या बढाएर ल्याउने गरेको महानगरको भनाइ छ।

महानगर परिषरभित्र औद्योगिक मजदुर, श्रमिक, रिक्सा चालक, सफारी चालक, यातायात मजदुर लगायत हजारौं भाडामा बसेर काम गर्ने गर्छन्।यतिबेला उनीहरु समेत राहतबाट विमुख भएका छन्। मोरङ्गमा औपचारिक र अनौपचारिक क्षेत्रमा करिब २५ हजारको संख्यामा श्रमिक कार्यरत रहेको ट्रेड यूनियनले जनाएको छ।

चैत्र २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्