आज हनुमान जयन्ती

हनुमानको अपमान नगरौँ, उनी एक अद्‌भूत पात्र हुन्

आज बुधबार, २६ गते २०७६ को चैत्र शुक्ल पुर्णिमाको दिन हनुमान जयन्ती हो। मेरा लागि यो दिनले विशेष महत्व राख्छ। स्वयंलाई “रामदास” मान्ने तथा नेपाली भाषामा “भरतमिलन महाकाव्य” रामायण लेख्ने पण्डित स्वर्गीय श्री गुणराज खनालकी कान्छी छोरी उपमाको छोराको रूपमा जन्म लिएको हुँदा म सानैदेखि हनुमानजीको महिमा, ज्ञान तथा पराक्रमबारे सुनेर हुर्किएँ। अद्यावधि मेरो हरेक दिन विहान नित्य कर्म पश्चात पुजा गरी हनुमान चालिसाको बाचन गरेर शुरू हुन्छ। २०५३ सालमा म अमेरिकामा विद्यार्थी हुँदा मेरो मामुले हनुमान चालिसाको एक प्रति दिनु भएको थियो, त्योप्रति मसँग अझै छ (हेर्नुस फोटो)। हुन त मलाई हनुमान चालिसा कण्ठै आउँछ तर देश विदेश जहाँ जाँदा पनि म सँग एक प्रति सदैव हुन्छ। जीवनमा हतास हुँदा, मन डराउँदा, आफन्त कोही गुमाउँदा, खुशी हुँदा, उपलब्धिमा रमाउँदा – कैयौं क्षणमा मलाई हनुमानजीको अनुभूतिले ढाढस मिलेको छ।

संस्कृतको एउटा श्लोक छ: “अन्जनेय पुजीतास्जेत, पूजीता सर्व देवता” जसको मतलब हुन्छ “जसले अन्जनी पुत्रको पूजा गर्छ, उसले सम्पूर्ण देवताको पूजा गरे सरी हुन्छ।”

म जस्ता धेरै अरू नेपाली हुनुहुन्छ जो हनुमान भक्त हुनुहुन्छ।

लेखकको बेइजिङमा रहेको पूजास्थल।

नेपाल मात्र होइन, हनुमानजीलाई भारत, इन्डोनेसिया, थाइल्यान्ड, कम्बोडिया, म्यान्मार लगायत देशमा समेत बलवान र ज्ञानीका रुपमा चिनिन्छ, आदरभावले हेरिन्छ र त्यहाँको संस्कृतिमा उहाँ अझै जीवन्त हुनुहुन्छ।

बितेका केही वर्षदेखी सामाजिक सञ्जालहरूको प्रयोग गर्दै गर्दा, विशेषगरी ट्विटर जस्ता राजनीतिक विषयवस्तुमा बहस र वादविवाद हुने माध्यमहरूमा हिन्दूहरूका आस्थाका प्रतीक तथा म जस्ता असंख्य हिन्दूहरुले भक्तिभावले पूजा गर्ने भगवान हनुमानजीको अनादर झनै तीव्र गतिमा बढ्दै गएको देखिरहेको छु। भाषा, संस्कृति हुँदै धर्ममा समेत चौतर्फी आक्रमण भइरहेको यति बेला हनुमानजीमा आस्था राख्नेहरूले आफ्नो धारणा व्यक्त गर्नैपर्छ।

हरेक दिन सामाजिक सञ्जालमा आफूलाई मन नपर्ने दलका अनुयायीहरूलाई होच्याउन, आफ्ना नेताहरुले जे गरे पनि अन्ध समर्थन गर्ने व्यक्तिहरूलाई जनाउन, तथा आ-आफ्ना नेताहरूको बचाऊमा उत्रिने कार्यकर्ताहरूलाई जनाउन हिन्दूहरुका आस्थाका प्रतिक श्री रामभक्त हनुमानजीको नाम निस्फिक्री प्रयोग हुन्छ। (हेर्नुस केही स्क्रीन सटहरू।)

कोभन्दा को कम शैलीमा भगवान हनुमानजीको नाम अरूलाई लाञ्छना लगाउन प्रयोग गरेको देख्दा मलाई र मजस्ता आफ्नो आस्थाप्रति सजग हिन्दूहरूलाई नराम्रो लाग्नु स्वाभाविक हो। आठवटा सिद्धी तथा नौ निधीका ज्ञाता हनुमानजीले जुन ज्ञान, आस्था र उत्सर्गले भगवान श्री राम जस्ता मर्यादा पुरुषोत्तमको सेवा गर्नुभयो, त्यो पवित्र सेवाभाव तथा उत्कृष्ट योगदानको कुनै ज्ञान वा परवाह बिना आजका दुष्चरित्र, कलंकित तथा भ्रष्टाचारी नेताहरूको पछाडि लाग्ने जमातले एक अर्कालाई सानो/तल्लो देखाउन उहाँको पवित्र नाम उछाल्नु या अज्ञानताले हो वा ठाडो अवहेलनाले नै गर्दा हो।
यो लेखको मुख्य आशय हनुमानजीबारे अज्ञान वा आफ्ना कृत्यले आस्थावानलाई पुर्‍याउने चोटबारे किंकर्तव्यविमूढ व्यक्तिहरुलाई अनुचित, अप्रासंगिक तथा असम्बद्धरूपमा धार्मिक आस्थाका प्रतिकलाई नघिसार भन्नु हो। साथै हनुमानजीका विशेषताबारे अनभिज्ञलाई यी अलौकिक रामभक्तबारे तिनलाई बताउनु हो।
वाल्मिकी रामायणको किस्किन्धा काण्डमा हनुमानजीको जन्म अन्जनेय गिरीमा (हाल भारतको कर्नाटका राज्य) भएको उल्लेख छ। भारतका अन्य केही स्थानमा पनि उनको जन्मबारे किम्बदन्तीहरू छन्।
अन्जना नामकी परी एकपटक ईन्द्रलोकबाट पृथ्वीमा आउँदा ध्यानमा मग्न एक बाँदरलाई देखी स-साना ढुँगा र फलफूलले हानेर जिस्काउँछिन्। ती बाँदरले आफ्नो ध्यान भंग गरेकोमा रिसाएर “जुन बेला कसैसंग तेरो प्रेम हुन्छ, त्यतिखेरै बाँदर भई जा” भनी अन्जनालाई श्राप दिन्छन्। श्रापमुक्त हुन उनी अनेक युक्ति गरी ब्रह्जीलाई रिझाउन सफल हुन्छिन्। पृथ्वीमै गई कसैसँग प्रेम गरी पुत्र प्राप्त भएपछि शिवजीको अवतारमा जन्मने सो पुत्रले उनीलाई श्राप मुक्त गर्ने थाहा पाएको केही समय पछि बृहस्पतिका छोरा शुरवीर केशरीसंग अञ्जनाको प्रणय तथा विहे हुन्छ। शिवजीसँग यी दम्पती पुत्र लाभको कामना गर्दछन्।

ठिक यही समयमा अयोध्याका राजा दशरथले पनि पुत्र काम यज्ञ आयोजना गरेका थिए। अग्नि देवले दशरथलाई आफ्ना श्रीमतिहरूलाई ख्वाउन भनी खीर दिँदा एक चीलले त्यसको टुक्रा लिई उडेर अञ्जना शिवजीको ध्यान गरिरहेको ठाउँमा उनको हातमा खसालिदिन्छ। त्यो खाएपछि अमलोद्भव वा निष्कलंक गर्भाधानबाट उनले शिवका अवतार हनुमानजीलाई जन्म दिन्छिन्।

अर्को कथामा वायुले नै शिवजीको शक्तिलाई अञ्जनाको कोखमा पुर्‍याएको तिनै अञ्जना नामकी स्वर्गकी परी तथा वायुदेव पवन बीचको संसर्गबाट हनुमानजी जन्मिएको पनि मानिन्छ।

हनुमानजीलाई आठ वटा सिद्धीका धनी मानिन्छ। पहिलो अणिमा सिद्धी जसले आफूलाई एकदमै सूक्ष्म (एकदमै सानो) बनाउन सकिन्छ, यही सिद्घीले हनुमानजीले सीता मातालाई आफ्नो सूक्ष्म रुप देखाउनु भएको थियो।

दोस्रो हो महिमा सिद्धी जसबाट आफूलाई चाहे अनुरूप संसारै ढाक्ने विशाल रूप धारण गर्न सकिन्छ। तेस्रो चाहिं गरिमा सिद्धी जसले शरीरलाई जति इच्छा भयो त्यति भारी बनाउन सकिन्छ। बूढा बाँदरको रुप धारण गरेर हनुमानजीले आफ्नो पुच्छरलाई असाध्यै भारी बनाएर महाभारतमा भीमले उचाल्न त के हल्लाउन समेत नसकेको कथा छ। चौथो हो लघिमा सिद्धी, जसको प्रयोगले गरिमाको ठिक उल्टो आफूलाई इच्छा अनुसार असाध्यै हलुका बनाउन सकिन्छ।

पाँचौं हो प्राप्ति सिद्धी जुन आफूले इच्छा गरेको वस्तु प्राप्त गर्नमा सहायक हुन्छ। पशु-पंक्षीको वा अरू थाहा नभएको भाषा बुझ्न, भविष्यको ज्ञान पाउन वा कुनै दुःख वा कष्टबाट मुक्त हुन यो काम आउँछ। छैठौं सिद्धीलाई प्राकाम्य सिद्धी भनिन्छ। यसमाथि विजयी व्यक्तिले आफ्नो इच्छा अनुसार पृथ्वीमाथि र आकासमा उड्न, पानीभित्र इच्छाए अनुसार बस्न तथा अरूको शरीरभित्र सूक्ष्मरूपमा पस्न वा चिरकालको लागि युवा अवस्थामै रहन सक्छ। ईशित्व सातौं सिद्धी हो जसमा व्यक्तिभित्र ईश्वरको वास हुन्छ, दैव शक्ति आउँछ तथा उक्त पात्र पूजा गर्न लायकको हुन्छ।

हनुमानजीलाई हामीले पूज्ने एक कारण पनि यही हो। आठौँ तथा अन्तिम सिद्धी वशित्व सिद्धी हो जसमा विजयी व्यक्तिले जसलाई पनि आफ्नो वशमा राख्न सक्छ। डरलाग्दा जङ्गली जनावरदेखि अरूलाई पनि आफ्नो अधिनमा राखी उनीहरूबाट आफूले चाहेको व्यवहार गराउन सकिन्छ। हनुमानजीले आफ्नो यही सिद्धीले मन, वचन, काम, क्रोध,आवेश, रीस-राग लाई अधीनमा राख्न सक्नु भएको थियो।

आनन्द रामायणको अनुसार अश्वत्थामा, बलि, व्यास, विभीषण, नारद, परशुराम तथा मार्कण्डेय लगायत हनुमानजी आठ अमर व्यक्तित्व मध्ये एक हुनुहुन्छ। जहाँजहाँ श्रीरामलाई पुजिन्छ, त्यहीं त्यहीं हनुमानजी जानुहुन्छ भन्ने मान्यता हालसम्म यस कारण पनि छ किनकी उहाँले पृथ्वी लोकेमै बसी रामको सेवा गर्ने कथा छन्।

इन्द्रबाट वज्रभन्दा पनि बलियो शरीर हुने वर पाएका, सूर्यदेवबाट आफ्नो तेजको अंश पाएका, यमदेवबाट अवध्य हुने र निरोगी हुने नीरोग आशीर्वाद पाएका हनुमानजीले यक्षराज कुबेर, विश्वकर्मा आदि देवताहरूबाट पनि कैयौं अमोघ वरदान पाउनुभएको छ।

नीतिमा कुशल तथा न्यायप्रेमी राजा भगवान रामले कर्तव्यपरायण भई राज्य त्याग गर्न र वनवास जान एक पल पनि हिच्किचाएनन्। उनी त्यस्ता सहनशील तथा धैर्यवान राजा थिए जो प्रजाप्रति दयालु तथा मायालु त थिए नै, आफू निहित पशु, मानव, दानव सबैलाई उन्नति गर्ने र प्रतिभा देखाउने मौका पनि दिन्थे। दिएको वचन सदैव पूरा गर्ने श्री रामले कुनै पनि हालतमा मित्रता निभाई छाड्थे।

त्यस्ता मर्यादा पुरुषोतम भनिने श्री रामका सेवक हनुमानजीका आफ्नै कतिपय विशिष्ट गुणहरू छन्। उनको रामभक्तिलाई हालका पथ र मतिभ्रष्ट नेता भनाउँदाहरू र तिनका वरिपरि राज्यदोहनका टुक्राको आशामा हिंड्ने देशद्रोही र परपीडक जमातलाई जनाउन प्रयोग गर्नु जति ठूलो अन्याय अरू केही हुँदैन। हिन्दु धर्मावलम्बी हरू स्वयंनै आफ्ना भगवानहरूको यो खालको अवमूल्यन गर्नमा तल्लीन देख्दा म साँच्चै अचम्म पर्छु।

के सामाजिक संजालमा वाक्य वाक्यमा “हनु-प्रवृति”, “दलको/नेताको हनुमान” भन्ने “ज्ञानी” हरूलाई हनुमानजीको विशेष महत्व र हिन्दु धर्ममा उहाँको स्थान थाहा छ? उहाँमा निहित विशेष गुणहरूबारे थाहा छ?

हनुमानजी संवादकलामा निपुण मानिनुहुन्छ, लङ्काको अशोक वाटिकामा सीता मातासँगको वार्ताबाट हामी बुझ्न सक्छौं। सुरसासँगको लडाईंमा उहाँले एक्कासी ठूलो र सानो बनी देखाउनु भएको चतुर्‍याईं पनि हनुमानजीको विशेष गुण मानिन्छ। आदर्शसँग जस्तोसुकै विषम परिस्थितिमा समेत सम्झौता नगर्ने भगवान हनुमानजीको गुण, जुन मेघनादले ब्रहमास्त्र प्रयोग गर्दा आफू घाइते नै हुने निश्चित भए पनि ब्रहमास्त्रको मान राख्न प्रतिवाद नगरेबाट देखिन्छ, आस्थावान हाम्रो लागि आदर्श जीवन मूल्यको परिचायक हो। हनुमानजीजस्तो बहुमुखी प्रतिभाशाली भगवान कमै छन्, जो उडेर लंका जान सक्छन् र परेको ठूला समस्या समाधान गर्न सक्छन्, जस्तै लक्ष्मण घाइते हुँदा संजीवनी बूटी ल्याए। त्यति हुँदा पनि उहाँको ठूलो गुण सदैव आत्ममुग्धताबाट टाढा बस्न सक्नु हो। उहाँले कहिले पनि आफ्नो बयान गर्नु भएन। आफूमा निहित नेतृत्व क्षमतालाई बारम्बार देखाउनु भयो, जस्तै: राम सेतु बनाउँदा अपेक्षाकृत रूपमा कमजोर तथा उच्चश्रृंखल मानिएका बाँदर सेनालाई समेत आफ्नो संगठनात्मक कौशलताले सफल रूपमा परिचालन गर्न सक्नु भयो।

भगवान श्री रामप्रति निरन्तर भक्तिभाव राख्न सफल र सम्पूर्ण रूपमा समर्पित हनुमानजीलाई दिनु पर्ने आदर र सम्मान दिन पछाडि नपरौं। जानी जानी वा अज्ञानतावश यदि हनुमानजीको नाम हामीमध्ये कसैले उहाँप्रति आस्था राख्ने व्यक्ति/ धर्मावलम्बीलाई चोट पुग्ने गरी गरेका छौं भने आजैदेखि त्यसो गर्न छोडौं। आ-आफ्नो आस्था सबैलाई प्यारो हुन्छ। कोही “महाज्ञानी” हिन्दु वा अरू धर्मावलम्बीले अझै पनि सामाजिक संजालमा श्री हनुमानजीको नाम अझै दुरुपयोग गर्नु हुन्छ भने त्यो बहुसंख्यक आस्थावानको निरादर हुनेछ तथा मुलुकको धार्मिक सहिष्णुताप्रतिको मूल्य/मान्यताको विपरित हुनेछ।

 

(अर्याल  @SiddhiAryal जन-स्वास्थ्यविद तथा साझा पार्टीका केन्द्रीय सदस्य हुन्।)

चैत २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्