कोरोना भाइरस महामारी

न्यूयोर्कमा अवस्था पुनः खराब, एकै दिन ७३१ जनाको मृत्यु

अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टर न्यूयोर्कमा अवस्था अहिलेसम्मकै खराब देखिएको छ।

मंगलबार एकै दिन न्यूयोर्कमा महामारी फैलिए यताकै सबैभन्दा धेरै व्यक्तिको नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट मृत्यु भएको छ । मंगलबार एकै दिन न्यूयोर्कमा कोरोना भाइरसबाट संक्रमित भएका ७३१ जनाको मृत्यु भएको हो ।

योसँगै न्यूयोर्कमा अहिलेसम्म मृत्यु हुनेको संख्या पाँच हजार ४८९ पुगेको छ । यस्तै संक्रमितको संख्या पनि राज्यमा एक लाख ३८ हजार ८३६ पुगेको छ ।

न्यूयोर्कका जेलहरुमा पनि संक्रमण फैलिएको छ । गरै फौजदारी अभियोगमा जेलमा रहेका र संक्रमणको उच्च जोखिममा रहेका ५३ वर्षका माइकल टाइसनको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

सुनुवाईको पर्खाईमै रहँदै उनको निधन भएको हो । यसले उच्च जोखिममा रहेका व्यक्तिहरुको सुरक्षाका लागि भएको कमजोर प्रयासलाई लिएर सरकारी अधिकारीको आलोचना भएको छ ।

सोमबार न्यूयोर्क सिटीको जेलमा रहेका २८६ जना कैदी तथा ३३१ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

आइतबार र सोमबार संक्रमण तथा मृत्यु कम भएकोमा न्यूयोर्क मंगबार कोभिड–१९ बाट अहिलेसम्मकै धेरै व्यक्तिको निधन भएको हो । तर नयाँ संक्रमण भने केही कम देखिएको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले बताएका छन् । उनले सबै न्यूयोर्करलाई स्वास्थ्य सम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

न्यूयोर्कमा जस्तै समग्र अमेरिकाभरमा पनि मंगलबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको छ ।

अमेरिकामा मंगलबार एकै दिन १९ सय २४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १२ हजार ७९५ पुगेको छ ।

न्यूयोर्कपछि सबैभन्दा बढी प्रभावित भएको राज्य न्यू जर्सीमा मंगलबार २२९ जनाको मृयु भएसँगै राज्यमा कुल मृत्यु हुनेको संख्या १२ सय ३२ पुगेको छ ।

यस्तै मंगलबार मिसिगनमा ११८, क्यालिफोर्नियामा ५४, लुजियानामा ७०, मासासुचेट्समा ९६, फ्लोरिडामा ४२, पेन्सिलभेनियामा ६१, इलिनोइसमा ७३ र जर्जियामा ११९ जनाको मृत्यु भएको छ।

अमेरिकामा अहिलेसम्म कुल संक्रमितको संख्या तीन लाख ९५ हजार ६७५ पुगेको छ । मंगलबार मात्रै २८ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या ८१ हजार ९७७ पुगेको छ । यस्तै विश्वभर कुल संक्रमितको संख्या १४ लाख २५ हजार भन्दा बढी पुगेको छ ।

चैत २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्