बेलायती प्रधानमन्त्री जोन्सन अझै आइसियूमा, स्वास्थ्य अवस्था स्थिर

कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रो रात पनि सघन उपचार कक्ष (आइसियू) मा बिताएका छन् ।
कोरोना भाइरसका लक्षणहरु थप सघन बन्दै गएको र स्वास्थ्य अवस्था गम्भीर देखिएपछि प्रधानमन्त्री जोन्सनलाई सोमबार बेलुका आइसियूमा सारिएको थियो ।
जोन्सनलाई मंगलबार राति पनि आइसियूमै राखिएको र डाक्टरहरुले कोरोना भाइरसको उपचार गरिरहेको बेलायती सञ्चारमाध्यमले जनाएको छ । प्रधानमन्त्री जोन्सन लण्डन स्थित सेन्ट थोमस हस्पिटलको आइसियूमा छन् ।
उनलाई गएको आइतबार बेलुका सो अस्पताल भर्ना गरिएको हो । डाक्टरहरुले जोन्सनको स्वास्थ्य नजिकबाट नियालिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
जोन्सनको अवस्था स्थिर र आत्मबल उच्च रहेको उनका प्रवक्ताले मंगलबार बेलुका बताएका छन् ।
यसअघि विदेशमन्त्री डोमिनिक राबले प्रधानमन्त्री जोन्सनले यो रोगलाई पराजित गर्नेमा विश्वस्त रहेको बताएका थिए । उनले जोन्सनलाई योद्धाका रुपमा परिभाषित गरे । भेन्टिलेटर वा नन–इनभेसिभ रेस्पिरेटरी सपोर्ट बिनै जोन्सनले सहज रुपमा स्वासप्रस्वास गरिरहेको उनले बताए ।
५५ वर्षका जोन्सनलाई आइतबार बेलुका लण्डनको अस्पतालमा भर्ना गरिएको छ । कोरोना भाइरसका लक्षणहरु कम नभएपछि उनीलाई अस्पताल लगिएको थियो । तर स्वास्थ्य अवस्था थप कमजोर बनेपछि उनलाई सोमबार बेलुका आइसियूमा सारिएको हो ।
जोन्सनलाई गएको मार्च २७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।