अनावश्यक हिँड्ने प्रहरी फन्दामा (तस्बिरहरु)

नेपालगञ्ज – लकडाउनमा मानिसहरु घर बाहिर निस्किने क्रम नरोकिएपछि बाँके प्रहरीले ‘मेन क्याप्च स्टीक’ को माध्यमबाट नियन्त्रणमा लिन शुरु गरेको छ ।

सवारी साधनलाई कडाई गरिरहेको बाँके प्रहरीले पैदल निस्किनेको संख्या बढेपछि समात्ने अभियान थालेको हो । मंगलबार पहिलो दिन ४८ जनालाई समातेर ‘आइन्दा अनावश्यक नहिँड्ने शर्तमा’ राती छोडिएको छ । अब उनीहरु समातिए मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
नेपाल बन्दजसरी दिनभरी घर भित्र या आसपासमै रहने मानिसहरु चार बजेपछि सडकमा निस्किने प्रवृत्ति देखिएको छ ।

स्थानीय प्रशासनले अत्यावश्यक बस्तु खरिदका लागि दूरी कायम गरेर निस्किन दिइरहँदा अनावश्यक हिँड्नेको भीड बढेपछि समात्ने अभियान थालिएको हो । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले घरभित्र बसिदिनुस् भनेर सम्झाउँदा नमानेपछि नियन्त्रणमा लिने अभियान थालेको बताए ।

सरकारले लकडाउनको अवधि लम्ब्याउदै जाँदा बाँके प्रहरी पनि कडाईका साथ प्रस्तुत हुँदै गएको छ । सीमावर्ती जिल्ला भएकाले बाँके जोखिममा मानिन्छ । यद्यपि, नाकामा कडाई गरिएको छ । नेपाल प्रवेश गर्न रोक लगाइएको छ । केही दिनअघि भित्रिएकाहरुलाई दशगजामा टेन्ट टाँगेर राखिएको छ । उनीहरु सबैको स्याम्पल जाँच भइसकेको छैन ।

बाँकेमा अहिले ४ सय ३२ जना क्वारेन्टाइनमा छन् । तीमध्येमा ५४ जनाको स्याम्पल संकलन गरेर जाँचमा पठाइएकोमा ३९ जनाको नतिजा नेगेटिभ आएको छ । बाँकीको रिपोर्ट आउँदैछ ।

चैत्र २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्