अत्याधुनिक उपकरण धनगढी पुग्यो, अब दैनिक ४ सयको नमूना परीक्षण हुने

धनगढी – कोरोना परीक्षण प्रयोगशालाका लागि अत्याधुनिक उपकरण धनगढी ल्याईएको छ । काठमाडौँबाट नेपाली सेनाको स्काईट्रकले बुधबार उक्त उपकरण धनगढी पुर्‍याएको छ ।

धनगढीमा स्थापना भएको प्रयोगशालामार्फत धेरै कम सङख्यामा परीक्षण हुन थालेपछि बढी क्षमताको उपकरण धनगढी ल्याईएको हो ।

यो उपकरण जडान भएसँगै तीन घण्टामा ९६ जना र दिनमा चार सयको परीक्षण गर्न सकिने बताईएको छ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई धनगढीमा रहेको भेटनरिको प्रयोगशालामा आजै स्थापना गर्ने तयारी गरिएको छ ।

केन्द्रीय पशुपंछी रोग अन्वेशषण प्रयोगशालाका प्रमुख सहसचिव डा. डिकरदेव भट्टले सुदूरपश्चिममा कोभिड १९ को जोखिमलाई ध्यानमा राखेर प्रयोगशालाले अहिले नै मेसिन जडान गर्न लागेको जानकारी दिए।

उनले आजै मेसिन जडान भएर परीक्षण शुरु गरिने बताए । उनले उक्त मेसिन तीनघण्टाको फरकमा ९६ वटा नमूनाको स्वाब परीक्षण गर्न सक्ने क्षमताको रहेको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको मेशिनकै क्षमता बराबरको उक्त मेसिन जडानपछि परीक्षणको दायरा बढ्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । सुदूरपश्चिम प्रदेशका प्रमुख स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले आरटीपीसीआर मेसिन जडान भएपछि धेरै सहज हुने बताए ।

सुदूरपश्चिममा संक्रमितको संख्या ४ जना पुगेपछि सरकारले मंगलबारदेखि कैलाली र कंचनपुरमा र्‍यापिड टेस्ट परीक्षण शुरू गरिसकेको छ।

मंगलबारमात्र कैलाली र कंचनपुरबाट १ सय ९५ जनाको नमूना संकलन गरिएको स्वास्थ्य निर्देशक अवस्थीले बताए ।

चैत २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्