बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर – बालिका बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय पथरीका अनुसार गत मंसिर २४ गते र चैत्र ८ गते भएको बलात्कारको घटनाका आरोपीलाई पक्राउ गरिएको हो ।

प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिपीप गिरीले दुवै घटनामा संलग्न २८ वर्षीय रामकुमार माझी र २० वर्षीय विशाल माझी पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेका रामकुमार, मंसिर २४ र बिशाल, चैत्र ८ गते भएको बलात्कार घटनामा संलग्न रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

पक्राउ परेका रामकुमारले बलात्कार गर्दा बालिका गर्भवती पनि भएको खुलेको छ । विभिन्न डर, त्रास र धम्की दिँदै बलात्कार गरेका कारण बलात्कारबाट पीडित बनेर गर्भवती हुँदा पनि बालिकाले लामो समयसम्म घटना गोप्य राखेको गिरीले जानकारी दिए।

बालिकाले आफन्तलाई पनि दोस्रो पटक बलात्कृत भएको घटनाका बारेमा मात्रै सुनाएको गिरीले बताए।
गत मंसिरमा पहिलोपटक रामकुमारबाट बालिका बलात्कृत भएको र पेटमा बच्चा रहेको पुष्टि भएको प्रहरीको भनाइ छ। ‘

अदालत खुलेपछि दुवै जना विरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाउँदै कानुनी प्रक्रिया सुरु गरिने प्रहरीले जनाएको छ।

चैत २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्