नयाँ वर्षको सलहेश फुलवारी मेला यसवर्ष नलाग्ने

जनकपुरधाम – सिरहा जिल्लामा प्रत्येक नयाँ वर्षको अवसरमा लाग्ने गरेको मेला यस पटक स्थगित भएको छ ।

विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारीको रुपमा फैलिँदै गएपछि यस पटक नयाँ वर्षको अवसरमा वैशाख १ गते सिरहाको लहान नगरपालिकामा लाग्ने गरेको मेला यस पटक स्थगित भएको हो ।

सिरहाको लहान नगरपालिका, गोलबजार नगरपालिका, सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकामा लाग्दै आएको मेला आयोजना नगर्ने निर्णय गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाँइले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न अहिले नेपाल लकडाउन रहेको अवस्थामा सलहेश फुलवारी मेलासहित जुडसितल मेला, धमनीमाई मेला र पतारी मेला नगर्ने निर्णय भएको प्रजिअ गुरागाँइले बताए ।

सिरहा जिल्लामा रहेको सलहेश फूलवारी पर्यटकका लागि महत्वपूर्ण स्थल हो। यो स्थान लोक नायक सलहेश र वर्षको एक दिन मात्रै फूल्ने हारमको फूलका कारण प्रख्यात रहेको छ ।

सलहेश फूलवारीको मध्यभागमा रहेको हारम नाउँको रुखमा प्रत्येक वर्ष नयाँ वर्षको पहिलो दिन सेतो रंगको माला आकारको फूल एक दिनका लागि फूल्ने गरेकोले यसलाई हेर्न हजारौँको संख्यामा पर्यटकहरु आउने गरेका थिए ।

चैत २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्