कोरोना भाइरस महामारीको मौकामा ४ सय ९ कैदी जेलमुक्त भए

सुन्धारास्थित केन्द्रीय कार्यालय।

काठमाडौँ- कोरोना भाइरसको संक्रमणका कारण देशभरका ४ सय ९ जना कैदीले सजायमा छुट पाएर जेलमुक्त भएका छन्।

सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयले कारागारमा रहेका कैदीको संख्या कम गर्न एक वर्षभन्दा कम कैद सजाय पाएकाहरुलाई बाँकी अवधिको प्रतिदिन तीन सयका दरले पैसा तिराएर छुट दिने निर्णय गरेपछि चार सय नौ जनाले छुट पाएका हुन्।

कोभिड- १९ संक्रमण कारागारभित्र भएमा भयाभह अवस्था सिर्जना हुने आँकलन गर्दै गत चैत ७ गते बसेको सर्वोच्च अदालतको फुल कोर्टको बैठकले मुलुकी अपराध संहिता कार्यविधि २०७४ को दफा १५५ अनुसार निवेदन आह्वान गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार बुधबारसम्म पाँच सय ५८ कैदीले सजाय छुटका लागि निवेदन दिएका छन्। कागारार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार जिल्ला अदालतको अनुमतिपछि बुधबारसम्म कैदमा रहेका एक सय ९० जना र बालसुधार गृहमा रहेका दुई सय १९ जना बालबालिकाले सजाय छुट पाएका छन्।

कैद छुटका लागि चार सय १८ जना कैदीबन्दी र दुई सय ४० बालबालिकाका अभिभावकले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएका थिए। निवेदन दर्ता हुने क्रम अझै जारी रहेको जिल्ला अदालतहरुले जनाएका छन्।

महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीका अनुसार सजाय छुटका लागि कैदीबन्दीले आफू रहेको कारागार हुँदै जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा निवेदन दिनुपर्छ। त्यसरी परेका निवेदन उपर जिल्ला अदालतले सुनुवाइ गरी कैद छुटका लागि अनुमति दिने वा नदिने निर्णय गर्दछ।

एक वर्षभन्दा कम कैद सजाय हुने कसुर गरेको भन्नाले चोरी, सार्वजनिक शान्तिविरुद्धका कार्य, जुवातास जस्ता मुद्दामा सजाय पाएका व्यक्ति पर्छन्। भ्रष्टाचार, करणी, अपहरण, शरिर बन्धक, कर्तव्य ज्यान जस्ता अपराध गरेका कैदीले भने छुटका लागि निवेदन समेत दिन पाउने छैनन्।

हाल देशभरका कारागारमा २४ हजार सात सयभन्दा बढी कैदीबन्दी रहेका छन्।

नेपालका जेलमा क्षमता १६ हजार भए पनि तराई र उपत्यकाका कारागारमा भने क्षमताभन्दा बढी कैदी राखिएको छ।

चैत २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्