रक्सौलबाट फर्किएका सांसद यादवसहित चारजनालाई क्वारेन्टाइनमा राखियो

पर्सा- प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवसहित चार जनालाई १४ दिन क्वारेन्टाइनमा राखिएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवसहित अन्य ४ जनालाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको हो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले सांसद यादवसहित चार जनालाई क्वारेन्टाइनमै राखिएको बताए। उनले भने, ‘सांसद यादव सहित चारजनालाई क्वारेन्टाइनमै बस्न राखेका छौँ। उहाँहरु बाहिर निस्किएको पाइए कानुन अनुसार वीरगञ्जको सिद्धार्थ माबिमा बनाइएको क्वारेन्टाइनमा राख्नेछौँ।’

सांसद यादवसँगै २ जना पत्रकार र उनका गाडी चालक हिजो भारतको रक्सौलमा रहेको क्वारेनटाइनमा बसेका नेपालीहरुसित भेटघाट गर्न पुगेका थिए। समाजवादी पार्टीबाट सांसद रहेका यादवसहित चारजना हिजो क्वारेन्टाइनमा बसेका नेपालीहरुको अवस्था बुझेर फर्किएका थिए।

रक्सौलस्थित हजारी मल उच्च माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा सांसद यादवसहित चारजना गएको बिषयलाई लिएर आज बिहानैदेखि समाजिक सञ्जाल फेसबुकमा टिका टिप्पणी हुदै आएको छ।

चैत २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्