लकडाउनमा पनि कम भएन विराटनगरमा तरकारी बजारको भीड

माेरङ– चौतर्फी लकडाउनको अवस्था छ। विहानदेखि दिउँसोसम्म सडकमा सर्वसाधारणको चहपहल न्यून छ। तर अपराह्नपछि राजनीतिक दलको बन्द आह्वानमा झै सर्वसाधारण घरबाट निस्किने गरेका छन्।

प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षाकर्मीले पटक–पटक यस विषयमा सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दै आएका छन्छ। तर सर्वसाधारणमा त्यो बुझाइ देखिँदैन। जब साँझ पर्छ अनि विराटनगर ११ जनपथ टोलमा स्थानान्तरण भएको तरकारी बजारमा सर्वसाधारणको भीड सुरु हुन्छ। बेलुका ७ बजेसम्म निर्वाध रुपमा तरकारी खरिदका लागि सर्वसाधारण पुग्ने गर्छन्, जहाँ लकडाउन पूर्णरुपमा असफल झै लाग्छ।

यस विषयमा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले तरकारी बजारमा हिजोको दिनभन्दा भीडमा कमि आएको बताउँछिन्।

उनले पूर्णरुपमा बजार तयार भइनसकेको अवस्थामा समेत तरकारी खरिद विक्रीका लागि भीड हुने गरेको गुनासो बढेपछि विहानै आफू सो स्थान पुगेर संयमित र सामाजिक दूरीको कायम नगरेको पाइएमा बजार बन्द गर्ने चेतावनी दिएकाे बताइन्।

महानगर अनुगमन समिति संयोजक कार्कीले खाद्यान्नमा मुल्य बृद्धिको कुरालाई लिएर केही पसलका सञ्चालकलाई स्पस्टीकरणसमेत सोधेको बताइन्। दैनिक रुपमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालयका कर्मचारी र महानगरसहितको टोलीले अनुगमन गर्दै आएको बताएकी उपमेयर कार्कीले लकडाउनको फाइदा उठाएर मुल्य बृद्धि गर्ने छुट कसैलाई नभएको स्पष्ट पारिन्।

यद्यपि तरकारी बजारमा सर्वसाधारणदेखि ब्यापारीसम्मको भीडमा कुनै कमी नभएको स्थानीयको भनाइ छ। सोही वडाका अध्यक्ष तिथेन्द्र न्यौपानेसमेत भीडलाई व्यवस्थित गराउनतर्फ सुरक्षा निकायलाई जानकारी गराउँदै आएको बताउँछन्।

तरकारी बजारका व्यवस्थापन पक्षलाई समेत केही दिनअघि तत्काल बजार नखोल्न सुझाव दिएको बताएका वडाध्यक्ष न्यौपानेले कोरोना भाइरस संक्रमणका विषयमा सर्वसाधारणसमेत जानकार भएकाले केही समय बजार नआइदिँदा उचित हुने बताए।

स्थानीय निर्मल तामाङका अनुसार विहान करिब ४ बजे बजारमा अत्याधिक भीड हुने गरेको छ। त्यसपछि बेलुका सुरक्षा निकायकै सामु सर्वसाधारण किनमेल गर्न उपस्थित हुने गरेका छन्।

सरकारले अत्यावश्यक तथा खाद्यानका पसल खोल्न छुट दिए पनि सो बजारले न्यूनतम मापदण्ड पूरा गर्न नसकेको तमाङको भनाइ छ।

उनी भन्छन्, ‘यस्तै अवस्था हो भने महानगरको यो बजारसमेत इपिसेन्टर नबन्ला भन्न सकिन्न।’

‘सब्जीमण्डीका रुपमा विकसित हुँदै गएको यस बजारको पसल अगाडि सर्वसाधारणका लागि केही घेरा भने बनाइएको छ, तर भीडका अघि त्यो घेराको दूरी पालना भएको देखिँदैन’, तामाङ भन्छन्।

अर्कोतर्फ, सो बजार व्यवस्था समितिका अध्यक्ष पशुपति भगतले पुरानो गुद्री बजार सानो क्षेत्रमा हुदाँ भीड हुने गरेको र हालको स्थान फराकिलो भएकोले सब्जी मण्डी सञ्चालनमा सहजता भएको बताउँछन्। यसक्रममा भीड नियन्त्रण गर्दै सामाजिक दूरी कायम राख्न प्रत्येक पसल अगाडि गोलो रेखा कोरेर व्यापार गरेकाे उनको भनाइ छ।

सो तरकारी बजार ३ विघा क्षेत्रफलमा फैलिएको र निजी व्यक्तिसंग बजार सञ्चालनका लागि २५ वर्षको समय अवधिका लागि जमिन भाडामा लिएको हो।

तरकारी बजारमा भीड हुन थालेपछि बजार नजिकका मासु पसल, होटलसमेत खुल्न थालेका छन्।

चैत २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्