कोभिड १९ः कोशी अस्पतालमा शंकास्पद विरामीको थ्रोट स्वाब परीक्षण हुने

विराटनगर – विराटनगरको कोशी अस्पतालमा कोरोना भाइरसको शंकास्पद विरामीको थ्रोट स्वाब परीक्षण हुने भएको छ।

शुक्रबार अस्पतालमा स्वाब परीक्षणका लागि स्थापना गरिएको ल्याबको निरीक्षण गर्दै प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोनाको भयको स्थिति भएकाले ढुक्क हुन पनि शंकास्पद विरामीको परीक्षणमा जानुपर्नेमा जोड दिए।

मुख्यमन्त्री राईले कोरोना परीक्षणलाई उच्च प्राथमिकतामा राखेर उपचार केन्द्रमा आवश्यक मेसिनहरु सञ्चालनमा ल्याएको बताए। ल्याव निरीक्षणका क्रममा मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखिएको ल्याव काठमाडौँ पछाडिको ठूलो क्षमताको भएको दाबी गरे ।

निरीक्षणका क्रममा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरले कोभिड १९ बाट जोगिन र शंकास्पदको थ्रोट स्वाबको परीक्षणका लागि उपचार केन्द्र तयार भएको जानकारी दिए। यसका लागि आवश्यक उपकरण, मेशिन तथा केमिकल बिहीबार काठमाडौंबाट ल्याइएको मन्त्री घिमिरे जानकारी दिए।

त्यसैगरि, कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले संभवत आज साँझदेखि परीक्षण शुरु गरिने जानकारी दिइन्।

पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल वीर अस्पताल काठमाडौँका जेनेटिक साईन्टीस् तथा कोरोना परीक्षण विज्ञ समूहले जनाएको छ।

यसैबीच, प्रदेश एकका विभिन्न ४ स्थानमा र्‍यापिड डायग्नेष्टिक टेष्ट (आरडिटी)का लागि टोली खटिएको छ। टोलीले मोरङको टाँडी, उदयपुरको बेलश्रोत, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरानस्थित क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्ने सामाजिक विकास मन्त्री घिमिरेले जानकारी दिए।

मन्त्री घिमिरेले प्रदेश एकको १४ वटै जिल्लाको क्वारेन्टाईनमा बसेकाहरुको परीक्षणका लागि आवश्यक सामान किट र पीपीई दुईदिनभित्र पठाईसकिने जानकारी दिए।

चैत्र २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू