लकडाउन जिन्दगी

पाँच किलोमिटर हिँडेर खोलाको साग टिप्न हिँडेका दिदीहरु

तस्बिरहरु: सुजाता खत्री

समय ‘लकडाउन’ को छ। सरकारले भिडभाड नगर्न भनको छन्। सामाजिक दूरी कायम गर्नुपर्ने भन्दै चोक चोकमा प्रहरी खटिएका छन् । महिलाहरुको एक समूह भने हाँस्दै गरेको सुनियो।

आवाज आएको ठाउँतिर हेर्दा तीनजना महिला देखिए। आडैको चौतारीमा पुटुस्स परेका झोलाहरु एक अर्कासँग टाँसिएर बसिरहेका थिए। हावा लागेको थिएन, बाटोमा गाडी थिएनन्, चरा कराएको जस्तो सुनिए पनि हाँसोले नै जितिरहेको थियो ।

दिउँसो दुई बजे, बाटो चकमन्न थियो। भत्तपुरको सूर्यविनायकचोकबाट गुण्डू जाने सडकको एक खण्ड, कार्यलय समय बाहेक अरु बेला त्यत्ति व्यस्त हुँदैन।

बेला बेलामा रुटमा चल्ने बस अनि घर बनाउन ल्याएका बालुवा, इट्टा, सिमेन्ट रोडा बोक्ने ट्रक बाहेक अरु सवारी साधन कम भेटिन्छन्। बाटा छेउका विद्यालय, खेतमा काम गर्ने मानिस बाहेक केही नाम कहलिएका चोकमा मात्र मान्छे गुजुक्क देख्न पाइन्छ।

यही सडकको अर्को खण्ड हो शुवर्णेश्वर चोक, गुण्डू जान कटुञ्जेमा पर्ने यो चोक कट्नैपर्छ। चोकबाट अगाडिको छेँडो छिचोलेपछि गुण्डु सुरु हुन्छ।

५ किलोमिटर लामो बाटोमा आउने धेरै चोकमध्ये शुवर्णेश्वर चोक यहाँको फेमस चोक हो। धेरै पहिला यो चोकमा आइपुग्ने जतिलाई जनावरको डर हुन्थ्यो, अनि कहिलेकाहिँ मान्छेको।

एकान्त यो चोकको दायाँ र बायाँ दुवैतर्फ जंगल छ। एकापट्टि भने ठूलो गेट अनि लामो सिमेन्टले बनेका सिँडिहरु। त्यो सिँढी उक्लेर गयो भने शुवर्णेश्वर महादेवको मन्दिर परिसर पुगिन्छ। सल्लाको वनको थुम्कोको मन्दिर पुग्न पातलो जंगल काट्नै पर्छ।

खैर हामी चोकमा थियौँ,

चोकबाट सूर्यविनायक लाग्दा देब्रेपट्टिका खाली ठाउँमा साँझ बिहान मान्छे झुप्प हुन्छन्। बिहान मर्निङ वाक, दिउँसो र साँझ ठिटाठिटीहरुको जक्सन। केही समय पहिलो यो ठाउँ ‘डेटिङ स्पट’ को रुपमा परिचित थियो ।

बिस्तारै केटाहरुको जक्सन भएको छ। कलेजपछि घुरुरु पारेर मोटरसाइकल बटार्दै यही चोकमा धेरै युवाहरु आइपुग्छन्। केटाहरुको बाक्लो उपस्थिति हुने भएपछि त्यहाँ चिया पसल, फलफुलको ठेला आउन थाले।

खानेकुरा पाइने भएपछि अझै धेरै मानिस आउन थाले। बाटो छेउमा थुप्रै मोटरसाइकलहरु लाइन लाग्न थाले। नगरपालिकाले पनि त्यहाँ विश्राम स्थल बनाइदियो, फलामे बेञ्चहरु बने।

अनि बेञ्चमा मान्छेहरु बसेर सल्लाको हावा फोक्सोमा पुर्‍याउँदै कटुञ्जेका भरिन लागेका फाँट अनि भक्तपुरका गुजुक्क परेका घरहरु हेर्दै बस्न थाले।

तर यो क्रम अहिले रोकिएको छ।

१८ दिन अगाडि यो बाटो हिँड्ने मानिस अहिले त्यहाँ पुग्यो भने धेरै वर्ष अगाडिको एकान्तपना महशुस गर्छ। त्यहाँका सिँडि, पिपलको चौतारो बेञ्चहरु सबै खाली खाली छन्।

 

 

 

ती हुल दिदीहरु पनि यस्तै यस्तै कुरा गर्दै थिए। तीनजनालाई एउटा एउटा बेञ्चमा खुट्टा पसारेर बसेको टाढैबाट देखिन्थ्यो। नजिकै पुगेपछि अर्को एक जनालाई पनि देखियो। उनी रुखले छेको परेको बेञ्चमा सुस्ताएकी रहिछन्।

चर्को घाममा पनि निधारमात्र देखिने गरी पछ्यौरीले मुख ढाकेका थिए, एक जनाले कपडाको माक्स लगाएकी थिइन्। कोही नजिक पुगेपछि उनीहरु सर्तक हुनु स्वभाविक थियो।

‘खाली खाली रहेछ यहाँ त है ?’

‘त्यै भएर हामी एउटा एउटा बेञ्चमा बसेको ?’

कहाँ पुगेर आउनुभयो नि ?’

‘तरकारी टिप्न गएर आको।’

टोली श्रृजना नगर बस्ने रहेछन्। श्रृजना नगरबाट भित्रि बाटो हुँदै शुवर्णेश्वर निस्केर गुण्डूको तीनधारे भन्ने ठाउँको बुढीगण्डकी खोलामा पुगेका रहेछन्। अनि खोलामा फल्ने साग टिप्न हिँडेका रहेछन्। एक झोला साग लिन यी समूहले ५ किलोमिटर बाटो काटे। खोलाको साग टिपे अनि फर्केर चोकमा थकाई मारे।

एक युवक आइपुगे, चिनजानकै रहेछन्। उनीहरु आफ्नो कामको कुरा गर्न थाले। ढलान गर्ने ठाउँमा काम गर्न जाने रहेछन् ती महिलाहरु, कुरा बुझ्दा ती युवाले काम मिलाइदिने रहेछन्।

कुरै कुरामा उनीहरु भन्न लागे, सुख्खा लाग्यो।

‘तपाईँ को ?’

मिडियाको मान्छे भन्ने थाहा पाएपछि उनीहरुको मुखको पछ्यौरा झन् कसियो। एकजना जुरुक्क उठेर हिडिन्। अर्कीले भन्न थालिन्, ‘हाम्रो फोटो भिडियो नहाल्दिनु है, पुलिसले चिन्यो भने लठ्ठीले हान्छ।’

समूहकी एक भन्दैथिइन्, ‘तीन जना बच्चा छन्। ज्यालदारी ठप्प मुखमा के हाल्नु। बच्चाहरु नजा भन्छन्, नआएर के गर्नु।’

सीमसाग पाउँछ भनेर उनीहरुलाई साथीले भनेका थिए। उनीहरुको काम लकडाउन हुनुभन्दा १० दिन अगाडिबाट नै बन्द भएको छ। मजदूरी गर्ने यी समूहलाई कराईमा तरकारी ओइरन हाल्ने तरकारी छैन। किन्न जान खल्ती छाम्न पर्छ र अलि अलि भएको पैसा रित्तियो भने भवितब्य आइपरे के गर्ने भन्ने पीर।

कोरोना भनेको के हो ? कसरी सर्छ भन्ने थाहा छैन। थाहा के छ भने माक्स लगाउनुपर्छ नत्र रोग लाग्छ, रोग लागे मरिन्छ भन्ने हो तर छोरा छोरीको पेटमा अन्न हाल्न पाइएन भने के हुन्छ भन्ने राम्ररी थाहा छ त्यसैले ३ घण्टा हिँडेर भएपनि तरकारीको जोहो गर्न हिँडेका छन्।

एकछिन थकाइ मारेपछि उनीहरु बाटो लागे, अलि तल पुगेपछि उनीहरुजस्तै दुई महिला भेटे। झोला देखाए, हाँसे। अनि हातले ‘उ पर’ भन्दै इशारा गरे र ओरालो झरे। उनीहरुको कोठा पुग्न आधाघण्टा बढी हिँड्नुपर्थ्यो। झोलाको सागले ४ दिन त पक्का पुग्थ्यो।

चैत २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्