लकडाउन उल्ल‌ंघन हुन थालेपछि मोरङ प्रहरीको कडाई

माेरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारी।

मोरङ– कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय मोरङले बेलुका ५ बजेबाट कडाई गर्ने रणनीति अपनाएको छ।

शुक्रबार बेलुका ५ बजेदेखि प्रहरीले सबै पसल बन्द गर्ने, अत्यावश्यक काममा बाहेक मानिसहरु घर बाहिर भेटिए कारबाहीको दायरामा ल्याउने मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी बताए।

लकडाउन घोषणा गरेको १८ औँ दिनसम्म आइपुग्दा सर्वसाधारणहरु सामाजिक दूरी कायम गर्न सचेत नभएको र घर बाहिर निस्कने क्रम बढ्दै गएको हुनाले प्रहरी कडा रुपमा प्रस्तुत भएको उनले बताए।

अधिकारीले भने, ‘यसक्रममा सडकमा भेटिएका सर्वसाधारणलाई दुई घण्टा सडकमै उभ्याउने र सवारी साधन नियन्त्रणमा लिइनेछ। जुन सवारीसाधन लकडाउन सकिएपछि मात्र सवारी धनीलाई बुझाइने छ।’

लकडाउनको पूर्णरुपमा पालना हुन नसकेको बताएका अधिकारीले जिल्लाभर कडाइ गर्ने र सर्वसाधारणलाई घरभित्रै रहन आग्रह गरे।

बेलुका ४ बजेदेखि सर्वसाधारण ५ बजेसम्म घरभित्र बस्न माईकिङ गरेको बताएका अधिकारीले सडकमा भेटिएका सबै सर्वसाधारणलाई दुई घण्टा होल्डमा राखिएको स्पस्ट पारे।

यद्यपि औषधी उपचार, चिकित्सक, पत्रकारलाई भने पासको आधारमा आवतजावत गर्न दिइने उनले बताए।

भारततर्फको दक्षिण सीमा क्षेत्रमा ३३ वटा नेपाल प्रहरी र ३७ वटा सशस्त्र प्रहरीको चेकपोष्ट रहेको बताएका अधिकारीले सीमाक्षेत्र पूर्ण रुपमा बन्दका लागि सुरक्षाकर्मीसँगै २ सय जना ‘प्रहरी मेरो साथी’का स्वंयसेवक रहेको बताए।

पछिल्लो केही दिन यता लकडाउनको अवज्ञा गर्दै हिड्ने क्रम बढ्दै गएपछि प्रहरीले सर्वसाधारणकै सुरक्षाका लागि कडाइ गरेको जनाएको छ।

जिल्लाभर बिहान र बेलुका सर्वसाधारणको चहलपहल सडकमा बढ्दै गएपछि सुरु गरिएको यस कार्यलाई ‘सेमी कर्फ्यू’का रुपमा लिन सकिने प्रहरीले जनाएको छ।

चैत २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्