नेपालगञ्ज उपमहानगरपालिकाले अति विपन्नलाई खाना खुवाउने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले अति विपन्नलाई खाना खुवाउने भएको छ । उपमहानगरपालिकाको आकस्मिक बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले नेपालगञ्जमा रहेका अति विपन्न वर्गलाई लकडाउन अवधिभरी खाना खुवाउन थालेको बताए। उनका अनुसार, शहरका पाँच ठाउँमा खाना खाने व्यवस्था मिलाउने तयारी भएको छ ।

वडा कार्यालयमार्फत राहत बाँड्दा धेरै ठाउँमा विवाद आएको थियो । कतै वडा कार्यालयमा तालाबन्दी भयो त कतै प्रहरीको लाठी चार्ज । अझ कतिपय ठाउँमा धन्दै जनसंख्या बराबरी नै राहत बाँडियो, वडाका सबैभन्दा गरीव विपन्न देखिने गरी ।

वडा कार्यालयले स्थायी बासिन्दालाई मात्रै राहत बाँडेका थिए । भाडामा बस्नेको हकमा वडाले लगत निकाल्ने र नेपालगञ्ज उपमहानगरपालिकाले राहत दिने भनिएको थियो । वडाको स्थायी बासिन्दालाई राहत बाँड्दा नै चरम विवाद देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले भाडामा बस्नेलाई लक्षित गरेर राहत बाँड्ने होइन कि विहान र साँझ खाना खुवाउने निर्णय गरेको हो ।

बोर्ड बैठकले बागेश्वरी पार्क, हडियाबाबा, रामलिला मैदान, राँझाको आदर्श स्कूल र कोरियनपुरको बगियामा खाना खाने व्यवस्था मिलाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले यी ठाउँमा जो पनि आएर खाना खान सक्ने बताए ।

‘नेपालगञ्जका स्थायी वा अस्थायी जो सुकै हुन् । घरमा चुल्हो बाल्न असमर्थ भएकाहरुले यी ठाउँमा आएर खाना खान सक्छन्, प्रवक्ता रिजालले भने, खाना खाने क्रममा सामाजिक दुरी कायम गरिनेछ ।’

नेपालगञ्जका मेयर डा. राणा, उपमेयर उमा थापामगरले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी वीरबहादुर ओलीसँग सुरक्षा र सामाजिक दुरीका विषयमा कुरा गरेपछि खाना खाने व्यवस्था मिलाइनेछ । प्रवक्ता रिजालले आइतबार साँझदेखि खाना लगाउने तयारी भएको बताए ।

नगरमा भाडामा बस्नेको संख्या धेरै भएको र संघ तथा प्रदेश सरकारले राहतका लागि बजेट नदिएपछि उपमहानगरपालिकाले राहत बाँड्न नसक्ने जनाएको थियो । तर, लकडाउनमा भोकभोकै हुन नदिनका लागि खानाको व्यवस्था गर्न थालेको छ ।

 

चैत्र २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्