चन्द्र सम्शेरको इस्तिहार र खड्गप्रसादको सम्बोधन

अज्ञानता सबैभन्दा ठूलो पछौटेपन हो। कुनै बेला थियो- नेपालमा कुष्ठरोग पूर्वजन्मको एउटा श्रापका रुपमा लिइन्थ्यो र छुवाछुतजस्तै थियो। प्रधानमन्त्री चन्द्र समशेर राणाले इस्तिहार जारी गरेर यिनका लागि छुट्टै व्यवस्था र बासस्थान नतोकुन्जेल कुष्ठरोगीहरु गाउँ र बस्तीबाट निकालिन्थे। यिनकै इस्तिहारपछि कुष्ठरोगीहरुको लागि पोखरा र खोकनामा मानापाथीसहित बस्ने व्यवस्था गरियो। १९१७ तिर रुघा ज्वरोको सामान्य महामारी (स्पेनिस फ्लु) आउँदा पनि केही मरेका थिए। चन्द्र समशेरले त्यसको सामना गरेर त्यो बेलाको राज्यहरुले आफ्नो राज्य धर्मअनुसार नागरिकको सुरक्षा गरेका थिए। औषधि उपचार नहुँदा ज्वरोको महामारीमा मन्दिरहरुमा पाठपुञ्ज भएर देउतादेवी भाकेर खुसी राख्ने प्रयास भए।

धार्मिक राज्यबाट धर्मनिरपेक्ष र एकतन्त्रीय व्यवस्थाबाट संघीय लोकतान्त्रिक व्यवस्थाले लामो फड्को मारिसक्यो यो सय बर्षमा। लामो समयपछि अर्को ठूलो कोरोनाको महामारीले विश्व आक्रान्त छ। नेपाल पनि अछुत छैन। चन्द्र समशेरकै शैलीमा दुईपटक सम्बोधन भए। त्यो हुकुमी राज्यमा जनता बोल्न सक्दैन थिए। अहिले बोलेर र लेखेर पनि राज्यको स्वभावमा ठूलो परिवर्तन छैन। गरिब र दुखीहरु सयौँ किलोमिटर हिँडेर घर पुग्दै छन्। संघीयतासँगै जन्मिएका राज्यहरु आफ्ना नागरिक लिन तयार छैन। गरिबको पीडा उस्तै छ।

विश्वमा मानिसहरु कोरोना जिवाणुको आक्रमणबाट आक्रान्त छन्। विज्ञानको अभूतपूर्व विकासको वर्तमान समयमा यो रोगले अहिले सम्म एकलाख भन्दा बढीको ज्यान लिइसकेको छ। मानिसहरु त्राहिमाम छन्। चिकित्साविज्ञान अनुसन्धानमा छ र प्रयोग खोज्दै छ। तर औषधि र उपचार अझै टाढा छ। मृत्युको भयले मानिसहरु मानसिक रुपमा कमजोर देखिएका छन्। संसारभरिका आधा जनता कोठामा थुनिएर बसेका छन्। घरघरमा दबाब छ, तनाव छ। नेपालमा पनि दश हजार भन्दा बढीलाई पृथक राखिएको छ। ८ जना आक्रान्त छन् अनि झन्डै दुई सय उपचारमा छन्। दैनिकजसो निक्लने राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा दिनहुँ मृत्युको समाचार सुन्दा जनता त्रसित छन्। यो रोग यमराजको रुपमा चित्रित छ। हुन् त् यसको मृत्यु दर सरदर तीन प्रतिशतमात्र छ।

एक सयबर्ष पछिको महामारीमा पनि औषधिकै अभाब छ हिजो जस्तै। अहिले डर र त्रास विकेन्द्रित छ। तर हिजो राणाहरुले देउती देखाएर पनि यो अबस्थामा जनतालाई स्वस्थ राखेका थिए। त्यो बेला अध्यात्म, ज्ञान र चिन्तनले मानिसहरुलाई सान्त्वना दिन सक्ने प्रमुख आधार हुन सक्यो। ध्यान र आध्यात्मिक ज्ञान अहिले पनि रोगबाट त्रसित र आक्रान्त मानिसहरुलाई राहत दिने आधार बन्न सक्थ्यो। नेपाल अहिले धर्म निरपेक्ष भएकाले ज्ञान र ध्यानको महिमा छैन।

हिजो चन्द्र समशेरले ज्ञान र विज्ञान एक अर्काका परिपूरक हुन् भन्ने बुझेका थिए। अहले प्रमाणित भएको छ कि यो विज्ञान भौतिक बिकासका लागि आवश्यक छ भने आध्यात्मिक ज्ञान मानसिक शान्तिका लागि। तर नेपाल कतै पनि छैन। कोरोना पीडितहरु गाउँघर र चार छिमेकमा अमर्यादित भएर बस्नुपर्ने अवस्था छ। तिनका परिवार पीडित छन्। राज्यले धर्म छाडेपछि नेपालमा मानिसमा धर्म र मानवीयता हराउँदै गएको छ। भर्खरै निर्मित नयाँ प्रान्तहरुले आफ्ना नागरिक लिन अस्वीकार गरेको अवस्थाले त्यसको पुष्टि गर्छ र सीमापारि रोइकराइ गरेका थप हजारौँ नेपाली र खाडीमा अर्को दश लाखभन्दा बढी कहालीलाग्ग्दो अँध्यारोमा छन्।

स्वामी विवेकानन्द भन्छन्- अँध्यारोपछि उज्यालो आउँछ। जन्मपछि मृत्यु र चेतन र अर्ध चेतन दुवै शाश्वत कुरा हुन्। अँध्यारोपछि उज्यालो अनि जन्मपछि मृत्यु, चेतन र अर्धचेतन सबै नियमित प्रक्रिया हुन्। तर एकपछि अर्को आउँछ भनेर मानिस स्वीकार गर्न गाह्रो मान्छ। सनातन धर्मले यो कुरा सिकाउँदै आएको छ। यी दुई कुरा बुझे संसारको भ्रमबाट मुक्ति पाइन्छ। विज्ञानले पनि यो शाश्वत कुरा स्वीकार गर्छ। तर विज्ञानले प्राप्त गरेको अभूतपूर्ब उपलब्धिमा रमाएको मानव जाति जन्ममा रमाउँछ र मृत्युसँग डराउँछ। उज्यालो चाहन्छ, अँध्यारो अश्वीकार गर्छ। ज्ञान र विज्ञान दुवैतिर सम दृष्टिकोण भएको भए मानिसहरु दुखमा पनि सुख देख्थे। अर्थात् रात र दिन अँध्यारो र उज्यालो। गीतामा श्रीकृष्ण भन्छन्- जुन पुरुष प्रियलाई प्राप्त गरेर हर्षित हुँदैन। अप्रियलाई प्राप्त गरेर उद्विग्न हुँदैन, त्यही पुरुष ज्ञानी हुन्छ। त्यस्तो व्यक्तिले संसारप्रति समभाव राख्छ।

एउटा सामान्या कोरोना किटाणुले विश्व विजयको हुङ्कार लिँदै अघि बढेको मानब जातिलाई चुनौती दिँदै संसारको गति एक्कासी ठप्प पारेको छ। आफ्नो अस्तित्व नै सर्वशक्तिमान मान्दै अन्य प्राणी र प्रकृतिको दोहनमा रमाएको मानवजातिको गति एउटा भ्रुण कोरोनाले रोकेको छ। पशुपक्षीलाई खोरमा थुन्ने मानव जाति आफ्नै घरमा खोर बनाएर थुनिन पुगेको छ। तर पनि मानिसहरुले अझै प्रकृतिको शास्वत सत्यलाई स्वीकार गर्न सकेको देखिँदैन। अँध्य्यारोपछि उज्यालो आउँछ है भन्ने हेक्का छैन।

सय वर्षपछिको राज्य सनातन आध्यात्मिक ज्ञान मानसिक शान्तिको आवश्यक तत्व हो भनी मान्दैन र सकारात्मक ऊर्जा प्रवाह गर्न असफल छ।

ध्यान र ज्ञान

ध्यान एकाग्रता हो जसको माध्यमबाट ज्ञान प्राप्त गर्न सकिन्छ। अर्थात् ध्यान ज्ञानको बाटो हो जसले आँखाबाट र शरीरले महसुस गर्ने संकटबाट मुक्ति दिन्छ। गीतामा भनिएको छ- ज्ञाता, ज्ञान र ज्ञेय यी तीन प्रकारका कर्म प्रेरणा हुन्। सत्वगुणीहरुले  यी तीन कुरामा ध्यान दिन्छन् र सजिलै जीवनको यथार्थ ज्ञान प्राप्त गर्छन्। सनातन धर्मले यही कुरा गर्छ। अर्थात् सर्वजन सुखाय सर्वजन हिताय नै ज्ञानको लक्ष हो। तर कर्मकाण्डीहरुको बाहुल्यले गर्दा सामान्य रुपमा प्राप्त गर्न सक्ने ज्ञान र संसारबाट मुक्तिका कठिन मार्गमा मानिसहरु दौडिराखेका छन्।

कर्मकाण्डीको भ्रम

जब मानिस ज्ञानबाट विचलित हुन्छ अनि उसलाई कर्मकाण्डले डोर्‍याउन थाल्छ। विश्व अहिले त्यही बाटोमा छ। भगवान सबैप्रति समान र सम्दृष्टि राख्छन्। त्यसैले भगवान सबैको कल्याण गर्छन्। तर अज्ञानीहरु भगवानदेखि डर मान्छन्। त्यसैले कर्मकाण्डीको शरणमा पुग्छन्। सबै धर्ममा अहिले कर्मकाण्डीको पकड छ। सनातनी धर्म होस् कि पाश्चात्य। नेपालकै अवस्था हेरौं न।
भगवान रिसाए के हुन्छ?

कुनै पनि धार्मिक सम्प्रदायका पण्डित, मुल्ला र पादरीहरुले कहिले पनि सिकाएनन् भगवान खुसी गराउन उहाँको ज्ञानलाई ग्रहण गर्नु पर्छ। बरु उनका ज्ञानका अनुसरण होइन कि उनलाई खुसी पार्ने पार्न मन्दिर, गिर्जा घर, मस्जिद कुद्नुपर्छ भनेर सिकाए। ज्ञान प्राप्त गर्ने कठिन बाटो छाडेर मान्छेहरु मन्दिर, मस्जिद र गिर्जाघरतिर तेरो र मेरो भन्दै दौडिए।

भौतिक विकासको चरम उत्कर्षमा पुगेको छ। तर सबै धर्म सम्प्रदायमा भगवानलाई नरिसाउन के गर्न सकिन्छ भन्ने आधारमा कर्मकाण्डी काममा नै मानिसहरु अभ्यस्त भएको देखिन्छ। यहुदी हुन् कि क्रिश्चियन अनि मुस्लिम हुन् कि फारसी। सनातनी हुन् कि बुद्धिस्ट। सबैका अनुयायीहरु भगवानको सम्झना उनको ज्ञानमा होइन कि उनको जन्म, ब्रह्मलीन क्रिया कर्मजस्तो बिषयमा केन्द्रित छन्। आफ्नो आत्मामा रहेको भगवानको रुप हेर्न मन्दिर, मस्जिद, गिर्जाघर र गुम्बाकेन्द्रित अहिलेको आध्यात्मिक चिन्तनमा ज्ञान गौण हुन् पुगेको छ। गीताले भनेजस्तो भगवान सबैतिर र सबैमा हुनु हुन्छ। भगवान एक हुनुहुन्छ। तर कोरोनाको यत्रो महामारीमा पनि सर्वजन हिताय सर्वजन सुखाय भन्ने अभाव छ।

विश्व कोरोना जीवाणुबाट आक्रान्त छ। वैज्ञानिकहरु यसबिरुद्धको युद्धमा दिलोज्यान दिएर लागेका छन् तर भौतिक विकासमात्रै अहिले पर्याप्त हुँदैन। योसँगै आध्यात्मिक चिन्तन पनि लैजानु पर्छ र जसले मानसिक रुपमा दुर्बल बनेको मानव जातिलाई राहत दिने छ।

चन्द्र समशेरले धेरै पहिले बुझेका थिए वैज्ञानिक र भौतिक विकासले ल्याउने ठुलो अवसर ल्याएर मानव कल्याण गरेको छ। आध्यत्मिक चिन्तन पनि आवश्यक छ। तर सय वर्षपछिको राज्य सनातन आध्यात्मिक ज्ञान मानसिक शान्तिको आवश्यक तत्व हो भनी मान्दैन र सकारात्मक ऊर्जा प्रवाह गर्न असफल छ। चन्द्र समशेरको भन्दा समय फरक छ तर अहिले कोरोनाबिरुद्धको युद्धमा जनता चौतर्फी मारमा छन्।

(लेखक अंग्रेजी पत्रिका स्पोटलाइटका सम्पादक हुन्।)

चैत २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्