नेपाल-भारत सीमामा कडाईं, ९ सय स्थानमा सशस्त्र प्रहरीको पोस्ट

झापा- भारतमा कोरोना भाइरस कोभिड-१९ संक्रमितहरुको संख्या बढ्दै जाँदा नेपाल(भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाइएको छ।

विगत तीन दिनयता छिमेकी मुलुक भारतसंग जोडिएका सीमा क्षेत्रमा ९ सय १ वटा पोस्ट खडा गरि सशस्त्र प्रहरीलाई तैनाथ राखिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार नेपाल(भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी प्रमुख जिल्ला अधिकारीको मातहत परिचालित हुनेछन्।

भारत तथा नेपालमा लक डाउन जारी रहँदा पनि मुख्य नाकाबाट आवागमन संभव नभएपछि भारतबाट नेपाल आउने मानिसहरुले चारी बाटो प्रयोग गर्न थालेपछि गृह मन्त्रालयले टेन्ट लगाएर अस्थाई पोस्ट बनाइ सशस्त्र प्रहरीलाई सीमा खटाउने निर्णय गरेको थियो।

सोही निर्णय अनुरुप अहिले सीमा पिलर नजिकै सशस्त्र प्रहरीले अस्थाई पोस्ट बनाइ सुरक्षाको काम सुरु गरिसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘यो व्यवस्था कोभिड(१९ को नियन्त्रण तथा रोकथामका लागि गरिएको हो।’ उनका अनुसार करिब २३ सय जनशक्ति ती पोस्टहरुमा थप गरिएको छ।

भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनशक्ति थप गरेको छ । जिल्लाको पूर्वोउत्तर सिमाना तिरीङ खोलादेखि पश्चिम-दक्षिण सिमावर्ती गोरीगञ्जसम्म १४४ दशमलव २ किलोमिटर सीमा क्षेत्रमा परिचालन गरिएको छ।

चैत २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्