निशुल्क खाना खुवाउने कार्यक्रम रद्द

नेपालगञ्ज – प्रहरी प्रशासनको अवरोध र नेताहरुको तीब्र विरोधले गर्दा नेपालगञ्ज उपमहानगरपालिकाले विपन्नलाई खाना खुवाउने कार्यक्रम रद्द गरेको छ ।

उपमहानगरपालिकाको शनिबार बसेको आकस्मिक बोर्ड बैठकले विपन्नलाई नगरका पाँच ठाउँमा खाना खाने व्यवस्था गर्ने निर्णय गरेको थियो । २३ वटा वडा रहेको नगरमा पाँच ठाउँमा मात्रै खाना लगाउदा भीडभाड हुने भन्दै धेरैले विरोध गरेका थिए ।

स्थानीय प्रशासनलाई नसोधेर गरिएको निर्णय एक दिन पनि टिक्न पाएन । स्थानीय प्रशासनले अवरोध गरेपछि खाना खुवाउने कार्यक्रम रोकिएको हो ।

उपमहानगरपालिकाले हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिर पार्क, रामलिला मैदान, आदर्श मावि राँझा र कोरियनपुरस्थित आपको बगियामा खाना खाने व्यवस्था गर्ने निर्णय गरेको छ । विशेष गरेर भाडामा बसेका व्यक्तिलाई लक्षित गरेर खाना खाने कार्यक्रम बनाइएको थियो ।

खाना खुवाउने कार्यक्रम स्थगित गरेर नेपालगञ्ज उपमहानगरपालिका कार्यालय राहत नै बाँड्ने तयारीमा जुटेको छ । उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले खाना खुवाउने कार्यक्रम स्थगित गरेको जानकारी दिँदै अब राहत दिने निष्कर्षमा पुगेको बताए ।

उनले राहत कति, कसरी दिने भन्ने विषयमा फेरि बोर्ड बैठक बसेर निर्णय गर्ने जानकारी दिए । नेपालगञ्जमा ५ हजार बढी भाडामा बस्ने मानिस रहेको आकलन गरिएको छ । उनीहरुलाई उपमहानगरपालिकाले खाना खुवाउने निर्णय गरेको थियो ।

अब भने राहत नै दिने तयारीमा जुटेको छ । यसअघि वडा कार्यालयले आफ्नो ठाउँका विपन्नलाई राहत वितरण गरिसकेका छन् । वडाले राहत वितरण गर्दा देखिएको विवादले गर्दा उमपहानगरपालिकाले खाना खुवाउने निर्णय गरेको थियो । यद्यपि, त्यो सफल हुन सकेन ।

चैत ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्