लकडाउन–प्रभाव स्थलगत विशेष रिपोर्ट

उपत्यका किसानको दशा: भारतमा किसानले झैँ आत्महत्या गर्ने दिन नआओस्

भक्तपुर– संघीय संसद, प्रतिनिधिसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले लकडाउनका कारण मर्कामा परेका किसानलाई सम्बोधन गर्न सरोकारवाला निकायलाई आग्रह गरेको समाचार सुनेपछि भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ५का कृषक प्रेम बस्नेत केही आशावादी बने।

कतै आफ्ना समस्याको सुनुवाइ हुने हो कि अब? बस्नेतमा अपेक्षा बढ्यो। तर त्यो अपेक्षा लामो समयसम्म रहन सकेन। त्यसैगरी उनले यसअघि स्थानीय सरकारका प्रतिनिधिलाई गरेको गुनासोको पनि कुनै सुनुवाइ भएन ।

शायद भक्तपुर राजधानीसँगै जोडिएको जिल्ला भएर होला बस्नेत उपत्यकाभन्दा बाहिरका धेरै टाढाका कैलालीलगायत जिल्लाका किसानले जस्तो दूध नै  नष्ट गर्नुपर्ने स्थितिमा पुगेका छैनन्।

तर दानापानीको अभाव हुन थालेपछि पर्याप्त खान नपाएका गोठभरीका गाई छिटो–छिटो कराउन थालेपछि भने बस्नेतको मन कुँडिन्छ।

प्रेम बस्नेत । सबै तस्बिर- रविन आचार्य

सात दिनको लकडाउनलाई ध्यान दिँदै बस्नेतले गाईका लागि जोहो गरेको दाना, भुसा र मकै रित्तिने क्रममा छ। त्यसमाथि लकडाउनले थप निरन्तरता पाएपछि दाना सहजै पाउन छाडेको छ।

किनभने सरकारको दाबी बिपरित भारतदेखि आयात हुँदै आएको गाईको दानाको आपूर्ति पनि लकडाउनसँगै अवरुद्ध भएको छ।

यही बेला ढुवानी व्यसायीले दानाको मूल्य बढाएको उनको गुनासो छ। ‘गाईलाई नियमित खुवाउँदै आएको दानापानी घटाएपछि दूध सुक्दै गएको छ। गाई बिरामी पर्छन् भन्ने पिर त्यतिकै छ,’ बस्नेतले भने।

आफ्नै जग्गामा कृषिजन्य कुनै व्यवसाय गरे किसानलाई सहुलियत ऋण प्राप्त हुने व्यवस्था छ। रामेछापका बस्नेतले जग्गा भाडामा लिएर गाईपालन गर्दै आएका छन्। त्यही भएर सरकारले उनलाई त्यो सहुलियतका लागि पत्याएको छैन।

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ मै बस्नेतको गाईगोठबाट नजिकै तरकारी उत्पादन गर्दै आएका स्थानीय कृष्णकाजी भासिमाको परिवारले भोगेको पीडा त थप त्रासदीपूर्ण छ।

तरकारी उत्पादनको जिम्मा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने परम्परा कायम राख्दै आएका भासिमा परीवारलाई लकडाउनका कारण यतिबेला ठूलो संकट आइपरेको छ।

कृष्णकाजी भासिमा र पञ्चलक्ष्मी भासिमा।

सरकारले तरकारीलगायतका अत्यावश्यक उपभोग्यवस्तुको उत्पादन र बिक्रीमा कुनै पनि अवरोध आउन नदिने घोषणा गरेपनि व्यवहारमा त्यो लागू नहुँदा भासिमा परिवारले उत्पादन गरिएका विभिन्न प्रकारका साग र धनियाँमध्ये थोरै मात्र बजार पठाउन सकेको छ। धेरै हिस्सा बारीको खाल्डोमा हाल्नुपर्ने बाध्यता छ।

पुस्तौंदेखि तरकारी उत्पादन गर्दै आएका भासिमा परिवारले अहिलेको जस्तो यस्तो कठिनाइ शायदै कहिल्यै भोगेका थिए। उनीहरुको उत्पादन काठमाडौं बागबजारस्थित तरकारी बजारमा सहजै पुग्थ्यो।

कृष्णकाजी भासिमा।

धेरैजसो त ठेकेदार नै तरकारी लिन गाडी लिएर उनीहरुको बारीमा पुग्ने गर्थे। तर लकडाउनका कारण उनीहरुले तरकारी बजारमा पुर्‍याउन सकेका छैनन् भने त्यसमाथि बिक्री नभएको भन्दै ठेकेदार समेत आउन छाडेका छन्। फाट्टफुट्ट आउनेहरुले पनि तरकारी नै बिक्री नभएकाले सस्तो मूल्यमा दिनु पर्ने सर्त सुरुमै राख्छन्।

‘तरकारी बारीमा सड्न थालेपछि हाम्रो निद्रा हराएको छ। केही महँगोमा बिक्री भइहाल्छ कि भनेर छोरालाई मोटरसाइकलमा पठाउने गरेका छौँ। तरकारी बोकेर जाँदा पनि ट्राफिक प्रहरीले केरकार गर्छन्। फर्किएर आउँदा पास माग्छन्। हामीलाई सरकारले पास दिएन। छोरो घर नआउञ्जेल डर लागिरहन्छ।’ समयमै बिक्री हुन नपाएपछि भान्सामा पुग्नुपर्ने चम्सुर, रायोलगायत साग बारीमै फुलेको छ। एक लटलाई त उनीहरुले खाल्डोमै परिसक्यो।

बिक्री नभएपछि बारीमै छिप्पिएको तरकारी।

तरकारी बिक्री नभएर खेर जान थालेपछि भासिमा परिवारलाई जग्गाको भाडा कसरी बुझाउने चिन्ता हुन थालेको छ। भासिमा परिवारले वर्षमा ६ महिना तरकारी खेती गर्छ। त्यसबापत एक रोपनीको १० हजार रुपैयाँ जग्गाधनीलाई बुझाउनुपर्छ। ६ महिना धान उत्पादन गर्ने भासिमा परिवारले त्यसको आधा धान जग्गाधनीलाई बुझाउनुपर्छ।

‘हामीलाई यसपालि एक लाख रुपैयाँभन्दा धेरै बराबरको घाटा लागिसक्यो। जग्गाधनीलाई तोकिएको समयमा भाडा दिनै पर्छ। यसपाली कहाँबाट जुटाउने त्यो भाडा?’ कृष्णकाजीकी पत्नी पञ्चलक्ष्मीको प्रश्न छ।

तरकारी बिक्री नभएपछि मल बनाउन खाल्डोमा हालिएको छ।

भासिमा परिवारलाई आफ्नो उत्पादन खेर गएर घाटा लागेको पीडा त छँदैछ त्यो भन्दा बढी पीडा आफूहरुजस्ता किसानहरुको समस्या सम्बोधन गर्नेतर्फ सरकारले कुनै चासो नदेखाएकोमा भएको छ।

कृष्णकाजी भन्छन्, ‘भाडा महँगो छ। तरकारी खाल्डोमा हाल्नुपर्ने अवस्था आयो। अहिले त तीन–तीन वटा सरकार छन्। स्थानीय सरकारले समेत आएर हाम्रो समस्या बुझेको छैन। लकडाउनको १८ दिन भइसक्यो। भारतमा किसानले आत्महत्या गरेको सुनिन्छ, हाम्रो त्यस्तो दिन नआओस्।’ भासिमा परिवार चाहन्छ- ‘कि सरकारले आफ्नो तरकारी बिक्री गर्ने वातावरण बनाइदियोस् या राहत देओस्।’

त्यसमाथि लकडाउनका मौका छोपेर बिचौलियाले झन् मर्कामा पारेका छन् यस्ता किसानलाई। कृष्णकाजीका छोरा धनकृष्ण भन्छन्, ‘बिक्री नै हुन्न, सस्तोमा दिनुपर्छ भन्दै हामीसँग ३ रुपैयाँ या ५ रुपैयाँमा साग लग्नेहरुले उपभोक्तालाई ३० देखि ४० रुपैयाँमा बिक्री गरिरहेका छन्। यसको अनुगमन कसले गर्ने हो?’

बिष्णुबहादुर साहु श्रेष्ठ।

छेउमै तरकारी खेती गर्ने श्रेष्ठ परिवारको वेदना पनि भासिमा परिवारको भन्दा कम छैन। यो परिवारले पनि तरकारी खेतीलाई नै मुख्य पेशाका रुपमा अगाँल्दै आएको छ। भासिमा परिवारसँग छुट्टिएर अलि पर पुग्दा विष्णुबहादुर साहु श्रेष्ठ झन चिन्तित देखिन्थे। समयमा बिक्री हुन नपाएपछि बारीमा उनको काउली ओइलाउन थालेको छ।

श्रेष्ठले हत्तपत्त आफ्नो दुःखको पोयो फुकाए, ‘ठेकेदार आएका बेला प्रतिकिलो १५ या २० रुपैयाँ काउली बिक्री गर्नुपर्‍यो। अहिले त उनीहरु पनि आउँदैनन्। एक दुई दिनमै खान लायक हुन्न। काटेर गाईलाई दिनु पर्ने हुन्छ।’

विष्णुबहादुरका छोरा सञ्जय पनि निराश देखिए। उनी भन्छन्, ‘हाम्रो परिवार तरकारी खेतीमै निर्भर छ। घाटामाथि घाटा हुन थालेपछि विदेश जानु नै ठिक हो कि भन्ने लाग्न थालेको छ।’

सञ्जय श्रेष्ठ।

किसान बृखमान मगरको पीडा छुट्टै छ। बंगुरपालन गर्दै आएका उनलाई लकडाउनका कारण अहिले बंगुरलाई दान जुटाउन मुश्किल परेको छ। उनी भन्छन्, ‘यस्तो संकटका बेला सरकारले हेर्दैन भने यो सरकारको के अर्थ?’

बृखमान मगर।

भक्तपुरसँगै छिमेकी ललितपुरका किसान पनि सरकारको आश्वासन अनुसार आफ्ना उत्पादन बिक्री गर्ने वातावरण नपाउँदा र लकडाउनका कारण पुगेको क्षतिबारे सरकारले बेवास्ता गर्दा आक्रोशित छन्।

भैँसीपालन र पोल्ट्री व्यसाय गर्दै आएका किसानको पनि उस्तै समस्या छ। बजारमा कुखुराको मासुको बिक्रीमा कमी आएको छ। त्यसले कुखुरापालन गर्दै आएका किसानहरुलाई थप निराश बनाएको छ।

‘पोल्ट्री उद्योग’ मा मात्र १५ देखि २० अर्ब बैंक लगानी ऋण भएको बैंकका एक अधिकृतले बताए। सरकारी तथ्याङ्कअनुसार उपत्यकामा मात्रै १ लाख २० हजार किसान गाईपालन व्यवसायमा छन्। यस्तै १ लाख भन्दा बढीले बंगुर पालिरहेका छन्। तर तरकारी खेती गर्नेको यकिन तथ्याङ्क भेटिदैन।

बृखमान मगरको बंगुर व्यवसाय।

तर, किसानहरुले यति धेरै पीडा र सास्ती खेपिसक्दा पनि सरकारले अहिलेसम्म पनि कुनै राहत प्याकेज घोषणा गरेको छैन। केन्द्र सरकारले यही चैत्र १८ गते तरकारी उत्पादन गर्ने किसानलाई परेको मर्काबारे यकिन विवरण माग गरेपनि कुनै निर्णय लिएको छैन। जिल्लाका पुराना कृषि कार्यालयहरु बिघटनको स्थितिमा छन् भने नयाँ संरचना निर्माणको काम अलपत्र छन्। यसले पनि किसानको दशा सरकारको चासो या प्राथमिकतामा नपरेको प्रष्ट हुन्छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल लकडाउनपछि किसानको समस्यालाई नजिकबाट हेरिरहेको र उनीहरुको समस्या सम्वोधनका लागि खटिएको बताउँछन्।

घनश्याम भुसाल, मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय।

‘उपत्यकाका तरकारी किसान मर्कामा परेका छन्। उनीहरुको उत्पादनको सहज ढुवानीका लागि हामीले कामसँगै अनुगमन अघि बढाएका छौँ। बाहिरका किसानको पनि समस्या नजिकबाट हेरेका छौँ। पहिले उहाँहरुको उत्पादनको सहज व्यवस्थापन गर्छौ र त्यसपछि क्षतिको मूल्याङ्कन गरी राहत घोषणा गछौँ,’ भुसालले भने।

भिडियो हेर्नुहोस्:

चैत ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्