म वास्तवमा खर्बपति हुँ, तपाईँ पनि

हिजोआज हामीलाई घरबाहिर निस्कनु पर्दैन। कार्यालय जानु पर्दैन। बैठक बस्नु पर्दैन। स्कुल-कलेज जानु पर्दैन। बजार जानु पर्दैन। साथीभाइ भेट्नु पर्दैन। अनुहार र मनलाई आवरणले ढाक्नु पर्दैन। आफू जे हो, त्यही बन्ने स्वतन्त्रता छ अहिले हामीलाई। हामीलाई आफूबाहेक कसैले देख्दैन हिजोआज। परिवारका सदस्यबाहेक अन्य कसैसँग प्रत्यक्ष अन्तर्क्रिया हुँदैन।

कोरोना भाइरसको विश्वव्यापी महामारीले दिएको सबैभन्दा ठूलो उपहार हो यो। हामी घरभित्रै छौँ। अब यसलाई बन्दी माने बन्दी, स्वतन्त्रता माने स्वतन्त्रता। मैले यसलाई आफैँसँग बस्न पाउने स्वतन्त्रता ठानेको छु।

उठ, खाऊ, बस, सुत। फिल्म हेर। किताब पढ। गीत सुन। इन्टरनेट चलाऊ।

हो, कयौँका लागि जिन्दगी कष्टकर बनेको छ। चुल्हो बलेको छैन। उत्पादन भएका सामानहरु बिक्री भएका छैनन्। आम्दानीको कुनै स्रोत छैन। काठमाडौँमा खानबस्न नसकेर पैदलै कयौँ दिनको यात्रा तय गर्दै घर जाँदै गरेका नागरिकहरुको हुल सञ्चारमाध्यमहरुमा देखिरहेकै छौँ हामी। सरकार मौन छ। मानौँ, प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारदारहरुले आँखाको ज्योति गुमाएका छन्।

संसार नै दु:खमा डुबेको छ। कोरोना भाइरसका कारण युरोप, अमेरिका र संसारका अन्य कयौँ देशमा चित्कार छ। हरेक दिन हजारौँ मानिसहरु मरिरहेका छन्। छिमेकी भारतमै धेरै मानिसहरुले हरेक दिन ज्यान गुमाइरहेका छन्।

प्रियजनहरु गुमाइरहेका छौँ हामी।

तर, कोरोना भाइरस हाम्रो कल्पना र नियन्त्रणको विषय होइन। योसँग जुध्ने सबैभन्दा उत्तम उपाय नै शरीरमा यसबिरुद्ध एन्टीबडी निर्माण हुनु हो जुन समयसँगै आफैँ बन्दै जान्छ भनी वैज्ञानिकहरु भन्छन्। हिजोसम्म हामीले कोरोना भाइरसको कुनै पनि प्रकारको चित्र दिमागमा बनाउन सकेका थिएनौँ। संसारमा थुप्रै यस्ता चिजहरु छन् जुन न हाम्रो कल्पनामा छन्, न हाम्रो नियन्त्रणमा। भन्ने हो भने हाम्रो कल्पना र नियन्त्रणमा साह्रै सीमित चिजमात्र छन्। मान्छेका रुपमा हाम्रा सीमाहरु छन्। हाम्रो भविष्य पनि न हाम्रो कल्पनामा छ, न नियन्त्रणमा।

हाम्रो कल्पना र नियन्त्रणमा नभएको विषयमा दिमागको ऊर्जा नष्ट गर्नु बुद्धिमानी होइन। हो, संसारमा जे भइरहेछ, त्यसमा एकैछिन त हाम्रो चित्त जान्छ। त्यसपछि बाँकी रहेको समय, यो अमूल्य मानव जीवन र हामीलाई प्राप्त भएका यी अद्‌भूत श्वासहरु किन हामी आफ्नै चिन्तनमा खर्च नगर्ने?

हामीले आफैँलाई ‌ओढाएका आवरणहरु अहिले कम उपयोगी हुने भएपछि हामी केही दिनलाई नै सही, किन आफ्नै स्वरुपमा नफर्कने?

म को हुँ?

म कसरी यहाँ आइपुगेँ?

के मेरो अहिलेसम्मको यात्रामा म सन्तुष्ट छु?

मेरा यी सारा दौडहरु केका लागि हुन्?

सकेसम्म थोरैमा बाँच्न सिक्ने हो भने जीवन धेरै सरल हुनेछ। कसैलाई धम्कीध्वाँस दिनरहनु पर्नेछैन। कसैसँग प्रतिष्पर्धा गर्नुपर्ने छैन। हो, पुँजीवादी अर्थव्यवस्थाको बिरुद्ध हुनेछ यो यात्रा। अर्थतन्त्रको आकार सानो हुनेछ। तर, त्यो प्रेमवादी व्यवस्थामा आनन्दको आकार ठूलो हुनेछ।

फलानोसँग रिसाएँ म। तिलानोसँग झर्किएँ। त्योसँग चर्किएँ। त्यसरी त्यसलाई दु:ख दिएँ। आखिर मलाई अहिले त्यसले के लाभ भयो? मेरो क्षणिक तुष्टिका लगि म आफैँप्रति असम्मानित रुपमा प्रस्तुत भएँ। मैले मेरै श्वासलाई राम्ररी सम्मान गरिनँ।

मेरो श्वास कति अमूल्य छ। मेरो धरती कति अमूल्य छ। कहिलेकाहिँ घरको छत वा झ्यालबाट चिहाउँछु म-  कति मनोरम छ यो धरती? आकाशका उडिरहेका चराहरु कति मनोरम छन्? हल्लिरहेका पातहरु?

मेरो स्वतन्त्र अस्तित्व के छ यहाँ?

मेरो मानप्रतिष्ठाको के अर्थ छ यहाँ?

मेरो शानसौकतको के मूल्य छ यहाँ?

यही माटो, यही धरती, यही ब्रम्हाण्ड, यही बहुब्रम्हाण्डको एउटा सानो अंश होइन म? मैले गर्ने काम अहिले नगरेर पनि के तात्त्विक फरक भएको छ?

मेरो घर यो पृथ्वी नै यति सानो छ। यति संवेदनशील छ। यति कोमल छ। यहाँ मैले नै रचना गरेको मेरो विशालताको के अर्थ? मेरो घमण्डको के अर्थ? मेरै बुद्धिले निर्माण गरेको शानसौकत, मानप्रतिष्ठाको के अर्थ?

म के गर्छु हिजोआज?

ओछ्यानबाट उठ्छु। अस्तित्वलाई धन्यवाद दिन्छु, यो श्वासका लागि। अनि खान्छु, घरमा जे छ त्यही। घरमै बस्छु। सुत्छु।

अहिले कहाँ गयो मेरो घमण्ड?

हाम्रा महत्त्वाकांक्षाहरु नै हाम्रो जीवनका बाधाहरु हुन्। हाम्रा आवरणहरु नै हामीलाई हामी बन्न नदिने पर्खालहरु हुन्।

आफूलाई पटकपटक ऐनामा हेर्नुस्। मिच्नुस्। थिच्नुस्। मुख बिगार्नुस्। अनि सोच्नुस् त- तपाईँ वा म, एकजना नभएर यो धरामा के फरक पर्छ? तपाईँ वा म, जे काम गरिरहेका छौँ वा थियौँ- त्यो नगरेर यो धरामा के फरक परेको छ?

हामीमध्ये कोही प्रोफेसर होलाऔँ, कोही पत्रकार, कोही बुद्धिजीवी, कोही नेता, कोही के, कोही के! यी सबै हामीले  गर्ने कामलाई हामीले नै दिएका नामहरुमात्र होइनन्? हामी आखिर यही ब्रम्हाण्डको एउटा अंशमात्र होइनौँ?

तपाईँहामी केही सातादेखि घरभित्रै बन्द भएर बसेका छौँ। यसकारण यो धरालाई कति नोक्सानी पुगेको छ? यसकारण यो धरामा कहाँ, कति क्षति भएको छ?

हामीले नै निर्माण गरेको अर्थव्यवस्थाबाहेक अरु कहिँ पनि अहिलेको लकडाउनले असर गर्दैन। धरा त हामी घरभित्र बन्द हुँदा मुस्काएकी छन्। हाँसेकी छन्। हाम्रो उपद्रव बन्द हुँदा धराको शरीरमा हामीले लगाएका चोटहरु ठीक हुँदैछन्।

स्वाभाविक रुपमा एउटा चेतनशील प्राणीका रुपमा हामीले आफ्नो ख्याल राख्नुपर्छ। आफूलाई ख्याल राख्ने सबैभन्दा उत्तम उपाय नै जीवनको क्षणभंगुरतालाई आत्मसात गर्नु हो। आफूलाई ख्याल राख्ने सबैभन्दा उत्तम उपाय नै आफूलाई यो ब्रम्हाण्डको अंशका रुपमा अन्तर्यदेखि स्वीकार गर्नु हो।

हाम्रो पृथ्वीको आकार सानो छ र हाम्रो स्रोतहरु सीमित छन्। प्राकृतिक भएर बाँच्ने हो भने यी सम्पदा हाम्रा लागि यथेष्ठ छन्। अप्राकृतिक भएर बाँच्ने हो भने हामी मानवजातिले नै पृथ्वीमा हाम्रो आयु छोट्टयाइरहेका हुनेछौँ।

शायद अब हामीले सहरहरुमा खालि ठाउँ र रुखबिरुवाहरु बढाउनुपर्नेछ। आवास क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेछ। चराहरुलाई, जनावरहरुलाई, मानवइतर प्राणीका लागि पनि हामीले पर्याप्त ठाउँ छुट्याउनुपर्नेछ।

पृथ्वीमा बढी जंगल, समुद्रको शुद्धता, बढी खालि जमिन, बढी प्रेम, बढी दया, बढी कृतज्ञता, बढी आनन्द- सायद हामीलाई चाहिनेछ अब।

संसारको सबैभन्दा ठूलो विकास अर्थतन्त्र वा भौतिक संरचनाहरु होइनन्। अर्थतन्त्रको सीमा हुन्छ। मलाई अर्बपति, खर्बपतिहरु देखेर छक्क लाग्छ। उनीहरु धनी हुन्, यदि उनीहरु राति चैनको निद्रा सुत्न सक्छन् भने। उनीहरु धनी हुन्, यदि उनीहरु अरुलाई दिनसक्छन् भने। नत्र उनीहरु आफ्नै सम्पत्तिका नोकरहरुभन्दा बढी केही होइनन्।

तपाईँ वा म वास्तविक रुपमा खर्बौँखर्ब पति हौँ। यो सारा आकाश हाम्रो हो। यो तारा, यो जुन, यो सूर्य हाम्रो  हो। यो विशाल ब्रम्हाण्ड, यो प्राणऊर्जा हाम्रो हो।

यो पृथ्वी हाम्रो हो। हामी सबैको हो। हाम्रो दौड राम्रो जीवनपद्धतिका लागि हो। तर, हामी उद्देश्यहीन दौडमा यति अन्धो भएका छौँ कि हामीले हाम्रा सबै उद्देश्य र आवश्यकताहरु बिर्सेका छौँ।

सन्तनेता कृष्णप्रसाद भट्टराईका यावत गुणहरुमध्ये मलाई सबैभन्दा बढी मन पर्ने गुण हो, उनको अपरिग्रहको स्वभाव। साँचेर नराख्ने उनको बानी। उनीसँग केही पनि सम्पत्ति थिएन। अहिले उनको निधनको १० वर्षपछि कसले भन्नसक्छ उनी गरिब थिए?

संसारका कुन भोग थिए जुन उनले भोगेनन्? उनीसँग सम्पत्ति नहुनुले यसमा के फरक पार्‍यो?

सम्पत्ति थुपार्ने र महत्त्वाकांक्षा पूरा गर्ने होडमा हामीले हाम्रो सारा जीवन बर्बाद पारिसक्यौँ। हाम्रो जीवनको विशालता र अनन्तता हाम्रो इच्छा र महत्त्वाकांक्षाहरुको किचाइले क्षतविक्षत पारेका छौँ हामी आफैँले। यो सारा पृथ्वी र यो सारा बहुब्रम्हाण्ड नै हाम्रो हो भने के थुपार्नु? समयले मलाई दिएका जिम्मेवारी पूरा गर्नुबाहेक अरु के गर्नु छ मलाई यो जिन्दगानीमा?

आफूलाई चाहिएकोभन्दा बढी लिनु हामी बस्ने घर, यो पृथ्वीको व्यवस्था खल्बल्याउनु हो। यसको सन्तुलन बिगार्नु हो। यो आकाश, यो जल, यो थल सबै- हामी सबै पृथ्वीबासीको हो। यहाँका सबै सम्पदाहरु पनि। यो बिल गेट्स वा विनोद चौधरीहरुको मात्र हुँदै होइन। थुपार्ने बानीले हामीलाई आफ्नै जीवनका सौन्दर्यहरुबाट बञ्चितमात्र गरेको छैन, पृथ्वीको सन्तुलन खल्बल्याउने कारण पनि बनेको छ यो।

सम्पत्ति थुपार्ने र महत्त्वाकांक्षा पूरा गर्ने होडमा हामीले हाम्रो सारा जीवन बर्बाद पारिसक्यौँ। हाम्रो जीवनको विशालता र अनन्तता हाम्रो इच्छा र महत्त्वाकांक्षाहरुको किचाइले क्षतविक्षत पारेका छौँ हामी आफैँले। यो सारा पृथ्वी र यो सारा बहुब्रम्हाण्ड नै हाम्रो हो भने के थुपार्नु? समयले मलाई दिएका जिम्मेवारी पूरा गर्नुबाहेक अरु के गर्नु छ मलाई यो जिन्दगानीमा?

हिसाब सरल छ। ३० जनाको परिवारका लागि ३० वटा ग्यास सिलिन्डर छन्। तर, १५ जनाले २/२ वटा लिए भने बाँकी १५ जनाका लागि ग्यास हुने छैन। अर्थात्, मैले बढी थुपारेँ भने अरु भोकै रहनेछन्। हामीले धेरै थुपार्नु भनेको अरु भोकै रहून् भन्ने कामना गर्नुबाहेक केही होइन। हामी ३० वटै ग्यासका सिलिन्डर आफै राखेर २९ जना भोकै राख्ने उपक्रम गरिरहेका छौँ।

सकेसम्म थोरैमा बाँच्न सिक्ने हो भने जीवन धेरै सरल हुनेछ। कसैलाई धम्कीध्वाँस दिनरहनु पर्नेछैन। कसैसँग प्रतिष्पर्धा गर्नुपर्ने छैन। हो, पुँजीवादी अर्थव्यवस्थाको बिरुद्ध हुनेछ यो यात्रा। अर्थतन्त्रको आकार सानो हुनेछ। तर, त्यो प्रेमवादी व्यवस्थामा आनन्दको आकार ठूलो हुनेछ।

धन्यवाद भगवान्, कोरोना भाइरसकै कारण सही, हामीलाई निरुद्देश्य दौडहरुबाट बिश्रामका लागि समय मिलेको छ। अहिलेको समयलाई हामीले प्रकृतिले दिएको एउटा अद्भूत उपहारका रुपमा ग्रहण गर्नसक्छौँ।

हरेक दिन कयौँ किलोमिटर हिँडेरै गन्तव्यको यात्रा गरिरहेकाका लागि यसो भन्न सक्दिनँ म। हरेक दिन चुल्हो नबलेर भोकै सुत्न बाध्यहरुका लागि यो ज्ञानको कुनै अर्थ छैन। यी अवस्था हाम्रा ढुकुटीहरुको साँचो लिएकाहरुको नालायकीको उदाहरण हो। कोरोना भाइरसले अहिलेसम्म हाम्रो भूमिमा ठूलो ताण्डब मच्चाएको छैन तर शासक पैदलै सयौँ किलोमिटर यात्रा तय गरिरहेका दुखीहरुलाई देख्न सक्दैन। अन्धो छ ऊ।

जो हामी ग्यास, चामल र दालको बन्दोबस्त गरेर घरभित्र बसेका छौँ, हाम्रो लागि यो अवसर हो। हामीले बाँचेको जिन्दगीको शैलीमा शायद कहिँ न कहिँ खोट छ भनेर मन्थन गर्ने अवसर हो यो। हाम्रो हृदयमा रहेको प्रेम र आनन्दको बिजमा सायद पानी हाल्ने समय हो यो।

हाम्रा छटपटी र उदासीहरुलाई हेर्ने समय हो। हामीभित्रका दु:ख र भयहरुलाई जाँच्ने अवसर हो।

हामीलाई कहिँ जानु छैन। हामीलाई केही पाउनु छैन। हामीलाई केही गर्नु छैन।

आखिर कोरोना भाइरसको सन्त्रासबीचका यी तीन साताले हामीलाई नचाहेरै पनि यो अवस्थामा ल्याइदिएकै छ।

एकछिन बाहिर निस्कनुस् त। फोक्सोमा लामो श्वास तान्नुस् र आफ्नो सासप्रति आभार व्यक्त गर्नुस्। हजारौँ मानिस मरिरहेको अहिलेको समयमा अस्तित्वले तपाईँहामीलाई दिएको यो अद्‌भूत जीवनका लागि आभार व्यक्त गर्नुस्। एउटा मीठो गीत गुन्गुनाउनुस् र यो अद्भूत जीवनको स्रोत यो अपार बहुब्रम्हाण्डप्रति कृतज्ञ बन्नुस्।

यही मेरो समय हो। म यहीँ पूर्ण छु। मेरो सबै यात्रा यही बहुब्रम्हाण्डको यात्राभन्दा कत्ति फरक छैन। मेरो सबै यात्रा यही बहुब्रम्हाण्डको दौडभन्दा कत्ति अलग छैन।

आउनुस् बाहिर निस्कनुस्। फोक्सोभरि श्वास भर्नुस् र धन्यवादले भरिनुहोस् यो अद्भूत जीवन प्राप्त भएकामा। हामी पहिल्यै पूर्ण छौँ।

आफूलाई महत्त्व दिने सबैभन्दा अचूक उपाय आफूलाई महत्त्व नदिनु हो।

आफूलाई अस्तित्वको असीमित स्रोतमा समाहित गर्ने सबैभन्दा अचूक उपाय मानव शरीरका रुपमा आफ्नो सीमाहरु स्वीकार गर्नु हो।

आफूलाई सुख र आनन्दको अपार महासागरमा डुबाउने अचूक उपाय कुनै पनि घटना र व्यवहारलाई पूर्णतया: स्वीकार गर्नु र आफ्नो हिस्साको भूमिका निर्वाह गर्नु हो।

बैशाख १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्