बिस्केट जात्रा रद्द भएपछि निर्जन बन्यो भक्तपुर (फोटो फिचर)

सुनसान भक्तपुर।

काठमाडौँ-  स्थिति सहज हुन्थ्यो भने नयाँ वर्षको दिन सोमबार भक्तपुर बिस्केटजात्रामा डुबेको हुन्थ्यो।

तर, भक्तपुरमा मनाइँदै आएको बिस्काः जात्रा यस वर्ष २ हजार वर्षमै पहिलोपटक नमनाइने भएपछि भक्तपुर सहर निर्जन बनेको छ।

चैत २७ गते बेलुकादेखि सुरु भएर आठ दिन नौ रात सम्म मनाइने बिस्काः जात्रा भक्तपुरको मुख्य जात्राको रुपमा लिइन्छ। स्थानीय भाषामा बिस्काः भनिने यो जात्रालाई बिस्केट जात्राको रुपमा पनि चिनिन्छ।

करिब २ हजार वर्ष लामो इतिहास रहेको बिस्काः जात्रा पहिलोपटक रोकिएको प्राध्यापक डा. पुरुषोत्तम लोचन श्रेष्ठले बताए। नेपाल संवत् ७ सय ४१ को चैत शुक्ल पूर्णिमाको दिन भैरवको रथ तान्ने क्रममा रथ पल्टिएको र त्यसलाई फेरि बनाएर जात्रा दोहोर्‍याएर निकालिएको श्रेष्ठले बताए। त्यस समयमा जात्रा रोकिएपछि विभिन्न विधानबाट क्षमा पूजा र राँगो बलि दिएर जात्रा पुनः सञ्चालन गरिएको इतिहास रहेको उनले बताए।

जात्रा स्थगित भएपछि त्रान्त्रिक विधिबाट पूजाआजा गर्ने अथवा रथ एवं लिगो ठड्याउने काम गर्नुपर्ने उनले बताए। उनले भक्तपुरको तलेजु मन्दिरभित्र नै सुनको लिंगो बनाई उठाउने र विधि विधानअनुसार रथ तानेर जात्रालाई सम्पन्न गर्नुपर्ने बताए। उनले बिस्काः जात्राको स्थापना कालदेखि नै इतिहासमा फेला नपरेकाले यो नै पहिलोपटक रथ तान्न नपाउने गरी जात्रा स्थागित भएको इतिहास बन्ने बताए।

जात्राका लागि जम्मा भएका केही स्थानीयहरुलाई सोमबार लकडाउनको २१ औँ दिन प्रहरीले त्यहाँबाट हटाएको थियो भने त्यस क्षेत्रमा संक्रमण नफैलियोस् भनेर निर्मलीकरण स्प्रे छरिएको थियो।

बैशाख १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्