कोरोना भाइरस महामारी

इटालीमा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, विश्वभर २० लाख भन्दा धेरै संक्रमित

विश्वव्यापी महामारीको रुप लिएर विश्वका अधिकांश देशमा संकटको अवस्था सिर्जना गरेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर २० लाख भन्दा धेरै पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर कुल संक्रमितको संख्या २० लाख १९ हजार भन्दा बढी रहेको छ । यस्तै विश्वभर मृत्यु हुनेको संख्या एक लाख १९ हजार ४८३ रहेको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा अहिलेसम्म ६ लाख ८२ हजार ६१९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै स्पेनमा एक लाख ७० हजार, इटालीमा एक लाख ५९ हजार, फ्रान्समा एक लाख ३७ हजार तथा जर्मनीमा एक लाख ३० हजार मानिसमा संक्रमसण पुष्टि भएको छ ।

बेलायतमा अहिलेसम्म ८९ हजार भन्दा बढी, चीनमा ८३ हजार भन्दा बढी, इरानमा ७३ हजार ३०३ तथा टर्कीमा ६१ हजार ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नोवेल कोरोना भाइरसबाट हुने कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि अमेरिकामै धेरै रहेको छ । अहिलेसम्म अमेरिकामा २३ हजार ५२९ जनाको ज्यान गइसकेको छ । सबैभन्दा प्रभावित भएको न्यूयोर्क राज्यको न्यूयोर्क सिटीमा मात्रै सात हजार ३४९ जनाको मृत्यु भएको छ ।

इटालीमा पनि मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । अहिलेसम्म इटालीमा २० हजार ४६५ जनाको मृत्यु भएको छ । सोमबार ५६६ जनाको ज्यान गएसँगै इटालीमा मृत्यु हुनेको संख्या २० हजार भन्दा माथि लागेको हो ।

स्पेनमा ज्यान गुमाउनेको संख्या १७ हजार ७५६ रहेको छ । सोमबार स्पेनमा ५४७ जनाको ज्यान गएको छ । यस्तै फ्रान्समा १४ हजार ९८६, बेलायतमा ११ हजार ३४७, इरानमा चार हजार ५८५ तथा जर्मनीमा ३१ सय ९४ जनाको ज्यान गएको छ ।

अहिलेसम्म विश्वभर चार लाख ४३ हजार ८८६ जना निको भएर घर फर्किएका छन्।

बैशाख २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्