कोरोना भाइरस महामारी

ट्रम्प लागे आफ्नो बचाउमा, भने–जे गरेँ ती सबै सही छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिनका लागि आफ्नो प्रशासनले गरेको प्रयासको बचाउ गरेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको सोमबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले आफूले गरेको कामको प्रशंसा गरेका हुन् ।

विज्ञहरुले सुरुमै सावधानीका उपायहरु अपनाएको भए धेरै अमेरिकीको ज्यान जोगिने बताएपछि ट्रम्पले आफ्नो बचाउ गरेका छन् ।

मेरिकाका उच्च स्वास्थ्य अधिकारी तथा कोरोना भाइरस महामारीविरुद्धको अभियानका नेतृत्वकर्ता डा. एन्थोनी फाउचीले आइतबार समयमै सामाजिक दूरी, सार्वजनिक गतिविधि सीमित गर्नेसहितका उपाय अपनाएको भए अवस्था अहिले भन्दा धेरै सहज हुने बताएका थिए ।

सोमबारको ब्रिफिङ्गको क्रममा सञ्चारमाध्यममाथि आक्रमक रुपमा प्रस्तुत भएका ट्रम्पले चुनावी अभियानमा जस्तै गरी यात्रा प्रतिबन्धको विरोध गर्ने पत्रकार तथा डेमोक्र्याटिक गभर्नरको भिडियो देखाएका हुन् ।

ट्रम्पले भने, ‘मैले चीनमाथि प्रतिबन्ध लगाएँ, तपाईँलाई लाग्छ त्यो सहज थियो ?’ उनले यो जवाफ एक पत्रकारले फेब्रुअरीमै महामारी फैलिन नदिनका लागि के गरिएको थियो भनेर सोधेको प्रश्नमा दिएका हुन् ।

उनले समग्रमा आफूले गरेका कामको बचाउ गरे र भने, ‘सबैकुरा हामीले जुन बेला जे गरेका थियौँ ती सबै सही थिए र छन् ।’

महामारी नियन्त्रणका लागि ट्रम्प प्रशासनले गरेको कामप्रति आलोचनात्मक रुपमा आइतबार प्रस्तुत भएका डा. एन्थानी फाउचीले सोमबारको ब्रिफिङ्गमा त्यसलाई स्पष्ट पार्दै आफ्नो बचाउ गर्ने प्रयास गरे ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार आफ्नो आलोचना गरेका डा. फाउचीलाई बर्खास्त गर्ने बारे ट्रम्पले सोचिरहेका छन्।

बैशाख २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्