इपिसेन्टर न्यूयोर्क गम्भीर शोक र पीडामा, मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टरका रुपमा रहेको न्यूयोर्कमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

सोमबार थप ६७१ जनाको मृत्यु भएसँगै न्यूयोर्कमा ज्यान गुमाउनेको संख्या १० हजार ५६ पुगेको राज्यका गभर्नर एन्ड्रयू कुओमोले बताएका छन् ।

सन् २००१ को सेप्टेम्बर ११ मा वर्ल्ड ट्रेड सेन्टरमा लक्षित गरी भएको आतंकवादी आक्रमणमा भन्दा झण्डै चार गुणा बढी न्यूयोर्करको ज्यान कोरोना भाइरसको महामारीले लिइसकेको छ । सो आक्रमणमा कुल २९ सय ७७ जनाको ज्यान गएको थियो, त्यसमध्ये २७ सय ५३ जना न्यूयोर्कर थिए।

१० हजार भन्दाबढीको मृत्युले राज्य पूरै शोकमा रहेको भन्दै गभर्नर कुओमोले महामारीबाट अति भयानक तहको पीडा र शोकमा परेको बताए ।

तर पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण भइ अस्पताल भर्ना हुनेहरुको संख्या उच्च तहमा स्थिर रहेको बताउँदै उनले अब केही दिनमा अवस्था केही सहज हुने अपेक्षा रहेको बताए ।

बैशाख २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्