‘आरडीटी’ टेष्ट गर्दै घर पठाउँदै गरेपछि रित्तियो ‘क्वारेन्टाइन’

नेपालगञ्‍ज-बाँकेको विभिन्न ठाउँको क्वारेन्टाइनमा राखिएका मानिसलाई १४ दिन पूरा गर्दै घर पठाइएपछि क्वारेन्टाइन खाली हुँदै गएको छ।

१४ दिन क्वारेन्टाइनमा बसेका व्यक्तिको ‘आरडीटी’ टेष्ट गर्दै नेगेटिभ देखिएकाहरुलाई घर पठाइएको हो । जिल्लाका विभिन्न पालिकामा बनाइएको क्वारेन्टाइनबाट १ सय ५४ जना घर फर्किएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, राप्तीसोनारीको खैरेनी आश्रममा बनाइएको क्वारेन्टाइनबाट १५, नरैनापुरको भोजभगवानपुरस्थित जय किसान माविको क्वारेन्टाइनबाट १ सय ३४ जना, खजुराबाट ३ र जानकीबाट २ जना घर गइसकेका छन् । खैरेनी आश्रम र जयकिसान माविको क्वारेन्टाइन रित्तिएको छ।

हालसालै भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्ने र आरडीटी जाँच गर्दा नेगेटिभ देखिएमा घर पठाइदिने गरिएको छ ।
कोरोना फोकलपर्सन श्रेष्ठका अनुसार, बाँकेमा अब ३ सय ४३ जना क्वारेन्टाइनमा छन् । त्यसमा ४६ महिला छन् । १४ दिन पुगेपछि उनीहरुको पनि टेष्ट गरेर घर पठाइने छ।

जिल्लाबाट अहिलेसम्म ७६ वटा पीसीआर जाँच गरिएकोमा सबै नेगेटिभ आएको छ । आरडीटी एक सय ८४ जनाको जाँच गरिएको छ । पीसीआर र आरडीटी दुवै जाँच २ सय ६० जनाको गरिएको छ । जिल्लामा अहिलेसम्म पोजिटिभ देखिएको छैन ।

अब सबैभन्दा धेरै दशगजामा बनाइएको क्वारेन्टाइनमा १ सय ८१ जना छन् । तीमध्येमा दश जनाको पीसीआर जाँच भइसकेको छ ।

बैशाख २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्