ट्रम्पको आदेश अति ‘खतरनाक’ : बिल गेट्स

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मिलिण्डा गेट्सले अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई प्रदान गर्दै आएको आर्थिक सहायता रोकिन नहुने बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको बताएका थिए ।
ट्रम्पले मंगलबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा कोरोना भाइरसको महामारी रोक्न असफल भएको भन्दै डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने बताएका थिए । त्यसमा प्रतिक्रिया दिँदै गेट्स दम्पतीले ट्रम्पको सो आदेश ‘खतरनाक’ रहेको बताएका हुन् ।
ट्रम्पको आदेश सुन्दा जति खतरनाक लागेको छ त्यसको परिणाम पनि त्यति नै जोखिमपूर्ण हुने गेट्सले उल्लेख गरेका छन् । ट्वीटरमा आफ्नो प्रक्रिया लेख्दै गेट्सले अहिले विश्वलाई डब्लुएचओको सबैभन्दा बढी आवश्यकता रहेको बताएका छन् ।
बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेसनले पनि डब्लुएचओलाई सहयोग गर्दै आएको छ । डब्लुएचओलाई सहयोग प्रदान गर्ने संस्थाको सूचिमा उनीहरुको फाउन्डेशन अग्रस्थानमा आउँछ ।
Halting funding for the World Health Organization during a world health crisis is as dangerous as it sounds. Their work is slowing the spread of COVID-19 and if that work is stopped no other organization can replace them. The world needs @WHO now more than ever.
— Bill Gates (@BillGates) April 15, 2020
यसअघि ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने बताए लगत्तै राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले वक्तव्य जारी गरेर कुनै पनि अवस्थामा अहिले सहयोग रोक्न नहुने बताएका थिए । वक्तव्यमा महासचिवले भनेका छन्, ‘यो समय सहयोग रोक्ने वा कम गर्ने होइन । यो बेला त एकताको खाँचो छ । एकीकृत प्रयासको आवश्यकता छ ।’
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि डब्लुएचओले गरेको काम निकै कमजोर रहेको ट्रम्पले आरोप लगाएका छन् । डब्लुएचओ कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै असफल भएको ट्रम्पको अभियोग छ ।
संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएचओमाथि ट्रम्पले गम्भीर आरोप लगाउँदै कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको बताए ।