आवास क्षेत्रहरुमा अहिल्यै सामूहिक परीक्षणको तयारी छैन: स्वास्थ्य मन्त्रालय

आकाशबाट देखिने काठमाडौँ शहर । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ– बाक्लो बस्ती वा संयुक्त आवास क्षेत्रमा कोरोना भाइरसको संक्रमण चाँडो फैलिने सम्भावना हुने भए पनि तत्काल काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका अपार्टमेन्ट वा संयुक्त आवास क्षेत्रमा परीक्षणको तयारी नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि मन्त्रालयको प्राथमिकता विदेशबाट आएकाहरुको खोजी, उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान तथा संक्रमण फैलिएको क्षेत्रका बासिन्दालाई लक्षित गरी अहिले परीक्षणको काम गरिरहेको स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाले बताएका छन्।

बाक्लो बस्तीको बिचमा उभिएको अग्लो अपार्टमेन्ट। तस्बिर : सुभल श्रेष्ठ/देश सञ्चार

तर हरेक अपार्टमेन्ट वा संयुक्त आवासमा तत्कालै परीक्षण गर्ने तयारी नरहेको उनले बताए। विदेशबाट आएका व्यक्ति बसेको र कोरोना भाइरसको संक्रमणको लक्षण देखिएका व्यक्तिको बसोबास युक्त क्षेत्र पहिलो प्राथमिकतामा रहेको उनले बताए।

काँडाघारी पेप्सीकोलामा रहेका सन सिटी अपार्टमेन्टमा बस्ने एक परिवारका तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संयुक्त आवास क्षेत्रमा कुनै व्यक्तिमा संक्रमण भएमा चाँडो फैलिने सम्भावना बढी हुने भएकाले चासो बढेको छ।

सन सिटी अपार्टमेन्टका पाँचवटा ब्लकमध्ये बुधबार ब्लक ए का बासिन्दाको र्‍यापिड किट टेस्ट भएको छ।

काठमाडौँ उपत्यकामा कति छन् अपार्टमेन्ट वा संयुक्त आवास?

काठमाडौँको काँडाघारी पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्ट । यो अपार्टमेन्टको १५ औँ तलमा बस्ने एक परिवारका तीनजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसपछि अपार्टमेन्ट सिल गरिएको छ र प्रहरीले निगरानी गरिरहेको छ । तस्बिर : बर्षा शाह/देश सञ्चार

शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागका अनुसार काठमाडौँ उपत्यकामा हालसम्म ७३ वटा अपार्टमेन्ट वा संयुक्त आवास क्षेत्र सूचिकृत रहेको छन्।

त्यसमध्ये ३० वटा अपार्टमेन्ट–संयुक्त आवास क्षेत्र सञ्चालनमा रहेको विभाग अन्तर्गतको बहुतले शाखाले जानकारी दिएको छ।

तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सन सिटी अपार्टमेन्टका बासिन्दाहरुको परीक्षण गर्दै स्वास्थ्यकर्मी । बुधबार (वैशाख २ गते) देखि त्यहाँ परीक्षण सुरु भएको हो । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

विभागका उपमहानिर्देशक चक्रवर्ती कण्ठका अनुसार ३९ वटा अपार्टमेन्ट–संयुक्त आवास क्षेत्र निर्माणाधिन अवास्थामा छन्। यस्तै चारवटा प्रक्रियामा रहेको उनले बताए ।

विभागमा सूचिकृति भएका अर्पाटमेन्ट–संयुक्त आवास क्षेत्रको कुल क्षमता लगभग ६ हजार ९४९ परिवार अटाउने रहेको उपमहानिर्देशक कण्ठले जानकारी दिए ।

सन सिटी अपार्टमेन्टका पाँच ब्लकमा करिब पाँच सय परिवारका झण्डै दुई हजार मानिसको बसोबास रहेको रहेको छ। यसरी हेर्दा सञ्चालनमा रहेका ३० अपार्टमेन्ट–संयुक्त आवस क्षेत्रमा कम्तिमा ५० हजार मानिसको बसोबास रहेको देखिन्छ ।

बैशाख ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्