जो बाइडेनद्वारा यौन दुर्व्यवहारको अभियोग अस्वीकार

अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनले आफूमाथि एक पूर्व सहयोगी महिलाले लगाएको यौन दुर्व्यवहारको अभियोग अस्वीकार गरेका छन् । झण्डै ३० वर्षअघि बाइडेन सिनेटर रहेका बेला आफूमाथि उनले यौन दुर्व्यवहार गरेको अभियोग ती महिलाले लगाएकी थिइन् ।

तारा रिड नाम गरेकी ती महिलाले बाइडेनको कार्यालयमा केही समय सहयोगीका रुपमा काम गरेकी थिइन । बाइडेनले आफूलाई भित्ता तर्फ धकेलेर हात सर्ट तथा स्कर्ट भित्र पसालेको आरोप लगाएकी छन् ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने लगभग पक्का भएका बाइडेनले आरोप अस्वीकार गरेका छन् । उनको चुनावी अभियानले यस्तो कुनै पनि घटना नभएको बताएको छ ।

बाइडेनको चुनावी अभियानले भनेको छ, ‘उहाँ यो कुरामा स्पष्ट रुपमा विश्वास गर्नु हुन्छ कि ती महिलाको कुरा सुनिनु पर्छ र सम्मानसहित सुनिनु पर्छ । र यस्ता अभियोगहरुलाई स्वतन्त्र सञ्चारमाध्यमले तत्परतापूर्वक पुनरावलोकन गर्नु पर्छ । यो आरोपको स्पष्ट कुरा यो हो कि, यो सरासर झुट हो ।’

५६ वर्षकी रिडले पोडकास्ट होस्ट केटी हाल्परसँगको अन्तर्वार्तामा गएको मार्चमा सो आरोप लगाएकी हुन् । सन् १९९३ को बसन्तमा तत्कालीन सिनेटर बाइडेनको जिम ब्याक ल्याउन आफूलाई लगाइएको र आफू बाइडेनसँग एक्लै परेको रिडले बताएकी छन् ।

रिडले अप्रिल ९ मा बाइडेनविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले सो उजुरीमा आफू यौन दुर्व्यहारबाट पीडित भएको उल्लेख गरेकी छन् । तर त्यसमा बाइडेनको नाम भने उल्लेख गरेकी छैनन् । सुरक्षाका कारण मात्रै आफूले सो उजुरी दर्ता गरेको ट्वीट मार्फत ती महिलाले उल्लेख गरेकी छन् ।

बैशाख ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्