प्रदेश–एकमा पीसीआरबाट ३४१ जनाको परीक्षण, २९२ जनामा नेगेटिभ, ४९ को रिपाेर्ट आउन बाँकी

माेरङ– प्रदेश एकमा हालसम्म पीसीआर प्रविधिबाट ३ सय ४१ जनाको स्वाब परीक्षण गरिएको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार २ सय ९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४९ जनाको नतिजा आउन बाँकी छ। डेस्कले रिपोर्ट नेगेटिभ आउनेमा २ सय ४३ पुरुष र ४९ जना महिला जनाएकाे छ।

डेस्कका अनुसार विराटनगरको कोशी अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआरबाट नमुना परीक्षण भइरहेकाे छ।

सोही क्रममा विराटनगरको कोशी अस्पतालमा बिहीबार २२ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको चिकित्सक लक्ष्मीनारायण यादवले जानकारी दिए। डा. यादवका अनुसार विगत तीन दिनयता अस्पतालमा ७६ जनाको स्वाब परीक्षण भइसकेको छ। जसमा सबैको नतिजा नेगेटिभ आएको हो।

यद्यपि बुढीगंगा गाँउपालिकामा एक युवतीको आरडीटी परीक्षणमा नतिजा पोजेटिभ र उनकाे स्वाब शुक्रबार परीक्षण गरिने डा. यादवले जानकारी दिए।

प्रदेश सरकारले हालसम्म र्‍यापिड डाइग्नोष्टिक टेष्ट(आरडीटी) प्रविधिबाट ८ सय २६ जनाको परीक्षण गरिएको जनाएको छ। जसमा ८ सय २५ जनाको नतिजा नेगेटिभ आएको छ। सो क्रममा झापा हल्दीबारीका एक युवकको आरडीटी परिक्षणका क्रममा बुधबार पोजेटिभ रिपोर्ट आएको थियो।

उनको बिहीबार कोशी अस्पतालमा स्वाब परीक्षण गर्दा भने नतिजा नेगेटिभ नै आएको डेस्कले जनाएको छ। डेस्कले हालसम्म दुवै प्रविधिबाट गरिएको जाँचका क्रममा नतिजा नेगेटिभ नै आएको जानकारी दिएकाे छ।

प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाइनमा बिहीबारसम्म ५ सय ६८ जना रहेका छन्। त्यसैगरि आइसोलेसन वार्डमा ८ जना रहेको डेस्कले जनाएको छ।

बैशाख ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्