बेलायतमा लकडाउन तीन हप्ता थप

बेलायतमा लकडाउन कम्तिमा तीन हप्ताका लागि लम्बिने भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिने प्रयास स्वरुप लागु भएको लकडाउन कम्तिमा थप तीन हप्ता बढाउने निर्णय भएको बेलायती विदेश मन्त्री डोमिनिक राबले बताएका छन् ।

प्रधानमन्त्री कार्यालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले अहिले नै लकडाउन खुकुलो बनाउनु जोखिमपूर्ण हुने निर्णयमा पुगेको बताएका हुन् ।

अहिले नै लकडाउन खोल्दा मानव स्वास्थ्य र अर्थतन्त्र दुवैमा थप नकारात्मक असर पर्ने देखिएको उनले उल्लेख गरेका छन् ।

अझै पनि कोरोना भाइरसको संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएकाले लकडाउन थप्ने निर्णय भएको विदेश मन्त्री राबले जानकारी दिएका हुन् ।

अमेरिकामा भने मृत्यु हुने तथा संक्रमित हुनेको संख्या उच्च रहेकै बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउन खुकुलो पार्ने बताएका छन् । तर बेलायतले लकडाउनल खोलेर जोखिम लिन नचाहेको बताएको हो ।

बेलायतमा बिहीबार एकै दिन कोरोना भाइरसको संक्रमण भइ अस्पताल भर्ना भएका ८६१ जनाको मृत्यु भयो । योसँगै अहिलेसम्म बेलायतमा १३ हजार ७५९ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या एक लाख चार हजार भन्दा बढी रहेको छ ।

बेलायत गएको मार्च २३ देखि लकडाउनको अवस्थामा छ । अझै कम्तिमा तीन हप्ता मानिसहरु घर बाहिर निस्कन पाउने छैनन् । अत्यावश्यक बाहेकका व्यवसायहरु खुल्ने छैनन् । दुईजना भन्दा बढी जम्मा हुन नपाउने नियम लागु छ ।

प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरसको संक्रमणबाट निको हुने क्रममा छन् । सरकारको जिम्मेवारी सम्हाली रहेका मन्त्री राबी केही आशाका किरणहरु पर देखिए पनि कडा प्रयासहरु कायमै राख्नु पर्ने बताएका हुन् ।

बैशाख ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्