लकडाउनको विपक्षमा रहेको ब्राजिलका राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई गरे बर्खास्त

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले देशका स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउन खोल्ने विषयमा एकमत नभएपछि राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्रीलाई नै बर्खास्त गरेका हुन् ।

बोल्सोनारो लकडाउन खोल्नु पर्ने पक्षमा छन् भने स्वास्थ्यमन्त्री लुइज हेनरिके मान्देताले तत्काल लकडाउन खोल्दा संक्रमण फैलिएर मानव स्वास्थ्यमा गम्भीर असर पर्ने बताउँदै आएका थिए ।

सोही कारण राष्ट्रपतिले आफूलाई बर्खास्त गरेको स्वास्थ्य मन्त्री लुइजले बिहीबार ट्वीट गरेर जानकारी दिएका छन् । कोरोना भाइरसको महामारी ब्राजिलको स्वास्थ्य प्रणालीले भोगिरहेको ठूलो चुनौति रहेको र यस्तो बेला सेवा गर्न दिएकोमा लुइजले नागरिकलाई धन्यबाद भनेका छन् ।

उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायलाई सहयोगका लागि धन्यबाद दिँदै आउने मन्त्रीले महामारीको राम्रो व्यवस्थापन गरुन् भन्ने शुभकामना पनि दिएका छन् ।

५५ वर्षका लुइज सन् २०१९ को सुरुमा स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए । उनले लगातार सामाजिक तथा भौतिक दूरी कायम गर्नु पर्ने बताउँदै आएका थिए ।

तर राष्ट्रपति बोल्सोनारो भने लकडाउनले अर्थतन्त्रमा असर पर्ने भन्दै त्यसको विरोधमा छन् । ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म १९ सय २४ जनाको ज्यान गएको छ । संक्रमितको संख्या ३० हजार ४२५ रहेको छ ।

बैशाख ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्