सिंगापुरमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकै दिन ७२८ जनामा पोजेटिभ

सिंगापुरमा कोरोना भाइरसको संक्रमण एकै दिन यसअघिको उच्च संक्रमण भन्दा दोब्बरले बढेको छ । सिंगापुरमा बिहीबार एकै दिन ७२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै त्यहाँ संक्रमितको संख्या चार हजार ४२७ पुगेको छ । बिहीबार अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको हो । सिंगापुरमा संक्रमित हुने मध्ये ९० प्रतिशत आप्रवासी कामदार छन् ।

आप्रवासी कामदार बस्दै आएको होस्टेलमा संक्रमण फैलिएपछि संख्या तीव्र गतिमा बढेको हो । सिंगापुरको निर्माण क्षेत्रमा झण्डै तीन लाख आप्रवासी कामदार कार्यरत छन् । त्यसमध्ये अधिकांश दक्षिण एसियाली देशका कामदार छन् ।

यी कामदार बस्दै आएका ठूला सेल्टरहरुमा भौतिक तथा सामाजिक दूरी कायम गर्ने सम्भावना अति कम छ । परीक्षणलाई तीव्रता दिइएकाले संक्रमितको संख्या पनि बढ्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसको महामारीको सुरुको चरणमा सिंगापुरले संक्रमण फैलिन नदिनका लागि अपनाएको उपायको प्रशंसा भएको थियो । तर पछिल्लो समय आप्रवासी कामदारप्रतिको व्यवहारको आलोचना भइरहेको छ ।

बैशाख ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्