धार्केबाट हिँडेर नेपालगञ्ज, चाउचाउ खाएर हिँडिरह्यौँ…

नेपालगञ्ज – पवन चौहानले तीन वर्षका छोरालाई काँधमा बोके। श्रीमती सहेली चौहानले १० महिनाकी छोरीलाई काखीमा च्यापिन्। दुई सन्तानसँगै उनीहरुसँग लुगाफाटाको झोला थियो।

मुकेश चौहान एक वर्षकी छोरी बोक्दै लम्किए। उनकी श्रीमतीले बेलाबेलामा छोरी बोक्न पालो दिइन्। बच्चा भन्दा गहु्रंगो कपडाको पोको त छदै थियो।  यी दुई चौहान परिवार ५२ जनाको समूहमा धादिङको धार्केबाट हिडेर नेपालगञ्ज आइपुगेका छन्। न खाने ठेगान, न त बस्ने मेसो। खाली घर पुग्ने सपनाले पूर्वपश्चिम राजमार्गमा लम्किरहेका भारत लखिमपुर खिरीका यी भारतीय ६ दिन हिडेर नेपालगञ्ज आइपुगेका हुन्।

उनीहरुले धार्केस्थित सत्या इट्टाभट्टामा काम गर्थे। सबै लखिमपुर खिरीका हुन्। ६ महिना अघि इट्टाभट्टामा पुगेका थिए। दुई महिनादेखि मालिक नै सम्पर्कमा नआएपछि भोक, प्यास सहदै उनीहरु घर जान निस्किएका हुन्। पवन भन्छन्, ‘इट्टाभट्टाका मालिक नै सम्पर्कमा नआएपछि खानाको समस्या भयो। दुःख नै सहेर घर जान हिड्यौ।’

बाटोमा चाउचाउ खादै उनीहरु नेपालगञ्ज आइपुगेका छन्। मुकेश भन्छन्, आँखाले देख्ने बेलासम्म हिड्थ्यौ। झमक्कै रात परेपछि सडकमै सुत्थ्यौ। विहानै फेरि हिडाई शुरु हुन्थ्यो।’

दुई ठाउँमा भने उनीहरुलाई राहत भएछ। गाडीमा चढाएर नाका पार गराइदिएछन्। कहाँ–कहाँको बाटोमा आफूहरुलाई गाडी चढाएर पठाइयो उनीहरुलाई थाहा छैन।

नेपालका प्रायः इट्टाभट्टामा भारतीय मजदुर छन्। मुकेशका अनुसार, सत्या इट्टाभट्टामा उनीहरुले मासिक नभई दैनिक ज्यालादारीमा काम गर्थे। एक हजार इट्टा बनाउदा साढे एघार सय मिल्थ्यो। प्रायः सपरिवार नै रहेका उनीहरुले दिनमा दुई हजार बढी इट्टा बनाउँथे। बस्ने व्यवस्था इट्टाभट्टामै थियो। लगातारको लकडाउन र मालिक नै सम्पर्क नआएपछि उनीहरु बाध्य भएर हिडेका थिए। ५२ जनामा २९ जना त बालबालिका छन्।

नेपालगञ्ज आइपुगेका उनीहरुको वीपीचोकस्थित सडकपेटीमा बसेका छन्। प्रहरीले लगत लिने काम गरिरहेको छ। उनीहरुलाई कहाँ राख्ने भन्ने बारेमा छलफल हुँदैछ। बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहको टोली उनीहरुको व्यवस्थापनमा खटिएको छ।

यसअघि चितवनबाट १२ दिन हिडेर बाँके आइपुगेका भारत नानपाराका ६७ जनालाई हवल्दारपुरस्थित राम माविमा टेन्ट टाँगेर राखिएको छ। नेपाल र भारतका सीमावर्ती अधिकारीहरुले नेपालमा रहेका भारतीयलाई नेपाल र भारतमा रहेका नेपाललाई भारत सरकारले क्वारेन्टाइनमा व्यवस्थापन गर्ने सहमति गरेका छन्।

बैशाख ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्