चीनसँग म खुशी छैनः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चीनसँग खुशी नरहेको बताएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको शुक्रबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले ‘म चीनसँग खुशी छैन’ भनेका हुन् ।

चीनले कोरोना भाइरसका कारण विश्वमा पर्न सक्ने चुनौतिबारे समयमै सचेत नगराएको आरोप ट्रम्पको छ । सन् २०२२ को ओलम्पिक आयोजना गर्ने अधिकार चीनबाट खोसिनु पर्छ कि पर्दैन भन्ने प्रश्नको जवाफमा भने उनले अमेरिका–चीन व्यापार सम्झौतालाई अघि सारे ।

उनले भने, ‘म चीनमा के भइरहेको छ हेर्न चाहन्छु । उनीहरुले कसरी काम गरिरहेका छन् हेर्न चाहन्छु ।’ त्यसपछि उनले भने, ‘यसलाई यसरी प्रस्तुत गरौँ, म खुशी छैन । म खुशी छैन है ।’

उनले विश्व स्वास्थ्य संगठनमाथि पनि आक्रमण गर्न छोडेनन् । डब्लुएचओले पनि महामारीको गाम्भीर्यतालाई नबुझेको आरोप ट्रम्पले लगाए । समयमै डब्लुएचओले आफूलाई जानकारी नदिएको ट्रम्पको भनाई छ ।

चीनमा के भइरहेको छ भन्ने बारे समयमै जानकारी नदिँदा समस्या आएको ट्रम्पले उल्लेख गरे । गएको मंगलबार ट्रम्पले अमेरिकाले डब्लुएचओलाई गर्दै आएको सहयोग रोक्न निर्देशन दिएको बताएका थिए । त्यसपछि ट्रम्पको विश्वभरबाट आलोचना भइरहेको छ । र पनि उनले डब्लुएचओको आलोचना गर्न छोडेका छैनन् ।

अहिलेको समस्याका लागि डब्लुएचओलाई दोष लगाएका ट्रम्पले महामारी फैलिन नदिनका लागि लागु गरिएको लकडाउन खुलाउने तयारी गरेका छन् ।

यस्तै विभिन्न राज्यमा भएका प्रदर्शनहरुको समर्थन पनि गरेका छन् । तर डब्लुएचओले भने महामारी अझै फैलिन सक्ने र आरडिटी परीक्षणको भर परेर लकडाउन खुकुलो पार्न वा हटाउन नहुने चेतावनी दिएको छ ।

बैशाख ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्